२७ असार, काठमाडौं । चार दिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले आज प्रचण्डसँग ‘डिनर’ भेट गर्ने भएका छन्।
उनी आज बिहान सुन्दरीजलस्थित बीपी संग्रहालयको भ्रमणमा गएका छन् । हिजो प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटघाट गरेका जियानचाओले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतसँग भेटवार्ता गर्दैछन् । आज बेलुका उनले सोल्टी होटलमा दाहालसँग भेटघाट गर्ने छन् । परराष्ट्रका एक अधिकारीका अनुसार त्यहाँ उनीहरु रात्रिभोजमा सरिक हुनेछन् ।
यस्तै, मंगलबार उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनालसँग भेटघाट गर्नेछन् । बालकोटमा उनले एमाले अध्यक्ष ओलीसँग लन्च मिटिङमा सहभागी हुने बताइएको छ । दिउँसो एभरेस्ट होटलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र नेता खनाललाई भेट गर्नेछन् । मंगलबारै उनले एमालेका उपत्यका अध्यक्ष कृष्ण राई र माओवादीका उपत्यका अध्यक्ष उमेश स्थापितसँग भेटघाट गर्नेछन् ।
बुधबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेर सोही दिन उनी बेइजिङ फर्कने छन् ।







