असोज ९, काठमाडौं ।
संसदको सार्वजनिक लेखा समितिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगसँग आफूले कारवाहीका लागि सिफारिश गरेको घटनाहरूको अवस्थाबारे जानकारी मागेको छ । लेखा समितिले वाइडबडी जहाज र सेक्युरिटी प्रिन्टिङ प्रेसको अनियमितता छानबिनको अवस्थाबारे सोधेको छ ।
वाइडबडी विमान प्रकरणमा पूर्वमन्त्री स्वर्गीय रविन्द्र अधिकारी, जीवन बहादुर शाही र जितेन्द्र देव, वायूसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलगायतमाथि छानबिन र आवश्यक कारवाहीका लागि लेखाले अख्तियारलाई पत्र पठाएको थियो । समितिका अनुसार यस प्रकरणमा चार अर्ब ३५ करोड रूपैयाँ भ्रष्टाचार भएको थियो ।
वाइडबडी प्रकरणमाथि महालेखा परीक्षकको कार्यालयले समेत प्रश्न उठाएको छ । सन् २०१७ मार्च र जुनमा दुईपटक विमान खरिदका लागि पेश्की दिइएको प्रतिवेदनमा उल्लेख छ । लेखा समितिले पनि यही प्रतिवेदनका आधारमा छानबिनका लागि अख्तियारलाई पत्राचार गरेको थियो ।
सेक्युरिटी प्रिन्टिङका विषयमा पनि लेखाले अख्तियारलाई प्रश्न गरेको छ । तामेलिमा राखिएको हो कि अनुसन्धान भइरहेको छ भन्ने विषयमा चासो राखेको लेखा समितिका सचिव रोजनाथ पाण्डेले जानकारी दिए ।
उनका अनुसार अनुसन्धानका लागि पत्र पठाएको ६ महिना पछि यस विषयमा अख्तियारसँग जवाफ मागिएको जानकारी दिए । यस अघि लेखा समितिको पत्रको जवाफमा अख्तियारले अनुसन्धान भइरहेको बताएको थियो ।







