श्रीलंकामा नयाँ प्रधानमन्त्रीको पदभार सम्हाल्दै दिनेश गुणवर्देना

साउन ६, कोलोम्बो। श्रीलंकामा दिनेश गुणवर्देनाले नयाँ प्रधानमन्त्रीको पदभार सम्हालेका छन्।

राष्ट्रपति रनिल विक्रमासिंघेले ६३ वर्षिय दिनेश गुणवर्देनालाई प्रधानमन्त्री नियुक्त गरेका हुन्। उनले आजै पद तथा गोपनियताको सपथ लिएका छन्।

गुणवर्देनाले यसअघि विदेश मन्त्री र शिक्षा मन्त्रीको जिम्मेवारी सम्हालेका थिए। अहिले सांसद छन्। केही समयअघि राष्ट्रपति गोटवाया राजापाक्षेले उनलाई गृह मन्त्री नियुक्त गरेका थिए।

गुणवर्देना श्रीलंकाको वामपन्थी पार्टी महाजन एकसाथ पेरामुनाका अध्यक्ष हुन्। उनको पार्टीका संसदमा २ जना सांसद छन्। दुई दिनअघि राष्ट्रपति बनेका विक्रमासिंघे पनि संसदमा आफ्नो पार्टीका एक्ला सांसद थिए।

राजापाक्षे परिवार सत्ताबाट बाहिरिएर नयाँ व्यक्ति राष्ट्रपति र प्रधानमन्त्री बने पनि श्रीलंकामा प्रदर्शन रोकिएको छैन।

यसैबीच शुक्रबार बिहानै सैनिक र प्रहरीहरूले प्रदर्शनकारीहरूमाथि हस्तक्षेप गरेका छन्। प्रदर्शनकारीहरूले तीन महिनादेखि कब्जामा लिएर प्रदर्शन गरिरहेको ठाउँमा सुरक्षाकर्मीले धरपकड गरी उनीहरूलाई धपाएका हुन्। घटनामा केही प्रदर्शनकारी घाइते भएको र केहीलाई प्रहरीले पक्रेको समाचार संस्था रोयटर्सले जनाएको छ।

राष्ट्रपति निर्वाचित भएपछि विक्रमासिंघेले अहिलेका प्रदर्शनकारीहरू फासिस्ट भएको भन्दै कानुनअनुसार उनीहरूलाई कारबाही गर्ने बताएका थिए।