नागरिकता विधेयकलाई फास्ट ट्रयाकमा पारित गरिँदै, मुख्य तिन विषय समेटिने

६ साउन, काठमाडौं । शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकमा सरकारले नागरिकता विधेयकमाथि परेका संशोधनमाथि हाउसमै छलफल गर्ने र फास्ट ट्र्याकमा पारित गर्ने तयारी गरेको छ ।

नागरिकता विधेयकलाई शुक्रबार नै प्रतिनिधिसभाबाट पारित गरेर राष्ट्रिय सभामा पठाउने तयारी छ । राष्ट्रिय सभाले पारित गरेर पुनः प्रतिनिधिसभामा पठाउँछ र राष्ट्रिय सभाले संशोधन गरेको खण्डमा त्यसलाई प्रतिनिधिसभाले स्वीकार गरेको खण्डमा सभामुख हुँदै राष्ट्रिपतिकहाँ पुग्छ ।

सभामुखले पनि आजको संसद बैठकको सम्भावित कार्यसूचीमा नागरिकता विधेयकलाई राखेका छन् । थप निर्णय प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिले गर्नेछ ।

सम्भावित कार्यसूची अनुसार शुक्रबार प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसपछि गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नागरिकता ऐन संशोधन विधेयक ऐनका रुपमा कार्यान्वयनमा आउनेछ।

सरकारले फास्ट ट्रयाकमा पारित गर्न खोजेको नागरिकता ऐन संशोधन विधेयकले मुख्यतः तीन वटा विषयलाई सम्बोधन गर्न खोजेको छ ।

पहिलोमा, जन्मको आधारमा नागरिकता पाएकाहरुको विषयलाई समेट्न खोजेको छ। २०७२ सालमा संविधान जारी हुनु भन्दा पहिले नेपाल सरकारले जन्मका आधारमा नागरिकता जारी गरेको थियो । उनीहरुका सन्तानले नागरिकता पाउने विषय संघीय कानुन बमोजिम सम्बोधन हुने संविधानमा उल्लेख छ । संघीय कानुन नबन्दा जन्मका आधारमा नागरिकता पाएका सन्तानहरुले नागरिकता पाउन सकिरहेका छैनन् ।

जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानका बाबु र आमा दुबै नेपालको नागरिक रहेको अवस्थामा १६ वर्ष उमेर पुगेका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने व्यवस्थाका लागि राजनीतिक दलहरुका बीचमा समेत कुनै विमती देखापरेको छैन । प्रस्तावित विधेयक अनुसार पारित भएर ऐन बनेपछि ३ असोज ०७२ भन्दा अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानले नेपालको नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था प्रस्तावित विधेयकमा छ ।

दोस्रोमा, आमाको नामबाट नागरिकता जारी हुने विषयलाई समेट्न खोजेको छ। । नेपालको संविधानले आमाको नामबाट नागरिकता जारी हुने भनेको छ । तर, संविधान अनुसार संघीय कानुन नबन्दा यो संवैधानिक व्यवस्था कार्यान्वयनमा आउन सकिरहेको छैन । प्रस्तावित विधेयकले यो विषयलाई सम्बोधन गरेको छ । प्रस्तावित विधेयक अनुसार पारित भएर ऐनका रुपमा लागू भएपछि नेपाली आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजका आधारमा नेपालको नागरिकता प्रदान गरिनेछ । तर, यसका लागि निवेदक आमाले ‘स्वघोषणा’ गर्नुपर्ने हुन्छ । बाबुको पहिचान हुन नसकेको भावमा गरेको ‘स्वघोषणा’ गरेर नागरिकता लिँदा झुटो विवरण पेस गरेको पुष्टि भएमा कारबाहीको भागीदार हुनुपर्नेछ ।

तेस्रोमा, गैरआवासीय नेपालीलाई नागरिकता जारी गरिने विषयलाई समेटेको छ। ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने गैरआवासीय नेपालीहरुको नारा लाई सम्बोधन गर्ने विषय प्रस्तावित विधेयकमा छ । प्रस्तावित विधेयक अनुसार राजनीतिक र प्रशासनिक अधिकारबाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सहितको गैरआवासीय नागरिकता जारी हुने विषय प्रस्तावित विधेयकमा छ ।