११ श्रावण, काठमाडौं। शल्यक्रिया उपकरण र औषधिहरूको आपूर्ति ठप्प भएसंगै श्रीलंकामा अस्पताल बन्द हुने अवस्थामा आएका छन्।
चरम इन्धन र औषधि अभावले श्रीलंकाका अस्पताल प्राय बन्द हुने अवस्थामा पुगेको हो। श्रीलंकाले ८५ प्रतिशतभन्दा बढी औषधि र चिकित्सकीय उपकरण आयात गर्दछ तर यतिबेला विदेशी मुद्राको अभावले आयात सहज गर्न सकिरहेको छैन। देशको अर्थव्यवस्था अत्यन्त नाजुक अवस्थामा चलिरहेको छ।
चिकित्सक र बिरामीहरू समेत यातायातमार्फत् सहजरूपमा हिंडडुल गर्न सक्ने अवस्थामा नभएको सञ्चार माध्यमहरूले जनाएका छन्।
स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले देशको समग्र सार्वजनिक स्वास्थ्य सेवाहरूको वर्तमान अवस्थाका बारेमा सत्यतथ्य विवरण सार्वजनिक गर्न आलटाल गरिरहेका छन्। यहाँका ९० प्रतिशतभन्दा बढी जनता सार्वजनिक स्वास्थ्य सेवामा निर्भर छन् जसको अवस्था अहिले बिजोगपूर्ण बनेको छ।
सञ्चार माध्यममा सार्वजनिक समाचार अनुसार सरकारी अस्पतालमा कार्यरत डाक्टरहरूले आपतकालीन शल्यक्रिया गर्न समेत कटौती गर्न बाध्य भएको बताएका छन्। त्यस्तै अत्यावश्यक औषधिको समेत आपूर्ति बन्द प्रायः रहेको छ।
‘श्रीलंका कुनै समयको बलियो मानिने स्वास्थ्य सेवा प्रणालीसमेत अहिले खतरामा छ’ संयुक्त राष्ट्रसंघकी हाना सिंगर हाम्डीले एक विज्ञप्तिमार्फत् जनाएकी छन् । सबैभन्दा कमजोर र निमुखा जनताले सबैभन्दा ठूलो प्रभावको सामना गरिरहेको उनले जनाएकी छन्।
विश्व बैंकले श्रीलंकालाई एन्टिरेबिज भ्याक्सिनलगायत तत्काल आवश्यक पर्ने औषधिहरूको भुक्तानी गर्न मद्दत गर्न कोषलाई निर्देशन दिएको छ।
यसैबीच भारत, बङ्गलादेश, जापानलगायत देशले पनि श्रीलङ्कालाई स्वास्थ्य सेवाको क्षेत्रमा सहयोग गर्दै आएका छन् । यद्यपि यहाँको स्वास्थ्य सेवा प्रणालीको अवस्थामा भने तत्काल सुधार देखिएको छैन।







