१२ श्रावण, काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर बोकेका गाडी बञ्चरेडाँडाका स्थानीयवासीले फेरिपनि रोकेका छन्।
फोहोर बोकेर बञ्चरेडाँडा जाँदै गरेका गाडीलाई स्थानीयले अवरोध गरेपछि बाटोमै गाडीको लाइन लागेको छ।
फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने सडक निर्माणको काम भइरहेकाले महानगरपालिकाले एक सातासम्म फोहोर संकलन र ढुवानी रोकेको थियो ।
महानगरपालिकाले एक हप्तादेखि नउठाएको फोहोर आज बिहानैदेखि संकलन सुरु गर्ने जानकारी दिएको थियो । सोही अनुसार बिहान फोहोर बोकेका गाडीहरु बञ्चरेडाँडा हिंडेका थिए ।
महानगरबाट करिब ६० गाडी फोहोर बोकेर गए पनि स्थानीयले रोकेका कारण फोहोर बञ्चरेडाँडा पुग्न नसकेको काठमाडौं महानगर नगर प्रहरीका प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टाराईले बताएका छन् ।
स्थानीयवासीले सडक निर्माण पूरा नहुँदासम्म फोहोर नल्याउन आग्रह गरेका छन् ।







