१२ साउन, काठमाडौं । अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु आज काठमाडौं आउदैँ छन्।
बालुवाटार स्रोतका अनुसार शुक्रबार दिउँसो तीन बजे उनले प्रधानमन्त्री देउवालाई भेट्ने कार्यक्रम छ।
दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेश मन्त्री लु आज अपरान्ह साढे चार बजेतिर काठमाडौं आइपुग्ने छन्। काठमाडौंमा रहँदा उनले परराष्ट्र मन्त्री नारायण खड्कासँग पनि भेट गर्ने छन्।
लुको नेपालमा यो दोस्रो राजनीतिक भ्रमण हो। एमसिसी पारित हुनुभन्दा अघि गत मंसिरमा नेपाल आउदाँ उनले महत्वपूर्ण राजनीतिक भेटघाट गरेका थिए। अमेरिका फर्केपछि पनि उनले प्रमुख दलका नेताहरूलाई फोन गरेका थिए।
अहिले नेपालमा एसपिपी बारे बहस जारी चलिरहेको बेलामा अमेरिकी उच्च स्तरीय भ्रमणले महत्वपूर्ण स्थान राख्ने विश्वास गरिएको छ।
गत असार ६ गतेको मन्त्रिपरिषद्को बैठकले एसपीपीमा नेपाल सहभागी नहुने निर्णय गरे पनि त्यस सम्बन्धी अमेरिकालाई औपचारिक रुपमा जानकारी गराएको छैन । एसपीपीमा नेपाल सहभागी हुन नहुने भन्दै संसद् र बाहिर पनि व्यापक विरोधपछि सरकारले यस्तो निर्णय गरेको थियो ।
लुको काठमाडौं भ्रमणबारे परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित अमेरिकी दूतावासले भने औपचारिक जानकारी दिएका छैनन्।






