भदौ पहिलो साताभित्र तालमेलका लागि कार्यदल गठन गर्ने सत्ता गठबन्धनको निर्णय

२० साउन, काठमाडौं । सत्ता गठबन्धनको शुक्रबार बसेको बैठकले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भदौ पहिलो साताभित्र कार्यदल गठन गरि चुनावी तालमेलको मेसो मिलाउने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले भदौ पहिलो साताभित्र तालमेलको मोडालिटी बनाउने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले बताएका छन्।

‘आगामी चुनावमा सत्ता गठबन्धन एक भएर जाने निर्णय भएको छ’, ‘चुनावी तालमेलबारे कार्यदल बनाउने निर्णय भएको छ ।’ नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले भने। उनका अनुसार आगामी भदौ दोस्रो साताभित्र सिटको भागबण्डा टुंग्याउने गरी कार्यदललाई जिम्मा दिने निर्णय भएको छ । कार्यदलमा को को बस्ने भन्ने दलहरुले आन्तरिक छलफल गरेर टुंग्याउने भएका छन् ।

सत्ता गठबन्धनले स्थानीय तहमा चुनावमा पनि तीन तहको कार्यदल गठन गरी तालमेल टुंग्याएको थियो।