असोज १०, काठमाडौं ।
व्यवसायीहरू पछिल्लो केही दिनयता इन्भर्टर र जेनेरेटरको बढ्दो माग देखेर खुसी र अचम्मित भएका छन् । यस्तैमध्येका एक व्यापारी हुन् राजन न्यौपाने ।
उनको अनुभवमा पछिल्लो दुई साता इन्भर्टर र ब्याट्रीको व्यापार बढेको छ । उनी भन्छन्, ‘इन्भर्टर र ब्याट्रीको ब्यापार विगतको तुलनामा दोब्बर बढेको छ ।’ लोडसेडिङ हटेपछि सुकेको सोलारको व्यापारपछि उनी कार्यालयहरुलाई इन्भर्टर र ब्याट्री बेच्नतर्फ लागे । अचेल घरायसी ग्राहक पनि इन्भर्टर खोज्न आउन थालेका छन् । महिनाको एकदेखि दुई लाख रुपैयाँसम्मको व्यापार हुने उनको अनुमान छ ।
बजारमा इन्भर्टर मात्रै होइन, जेनेरेटरको ब्यापार पनि विगतको तुलनामा दोब्बर भएको छ । टेकुका सुन्दर थापा पनि जेनेरेटर ब्यापार दुई हप्तायता चल्मलाएको बताउँछन् ।
लाइन आउने जाने क्रम बढेपछि दिनमा २–३ वटासम्म जेनेरेटर बिक्री हुन थालेको उनी बताउँछन् । ‘पहिला लोडसेडिङको बेला दैनिक दर्जनसम्म जेनेरेटर बेच्थ्यौं, बीचमा यो व्यापार ठप्प थियो,’ उनी भन्छन् ‘अहिले फेरि व्यापार बढ्न थालेको छ ।’
डिल्लीबजारमा जेनेरेटर कारोबार गर्ने अमन पोद्धार जेनेरेटरको ब्यापार बढेको सहजै स्वीकार गर्छन् । ब्यापार बढेर मौज्दातमा रहेका जेनेरेटर बिक्री हुन थालेपछि पोद्धारले अनलाइन विज्ञापन नै गरेका छन् ।
पछिल्ला १० दिनयता जेनेरेटरको ब्यापार चलायमान भएको उनको अनुभव छ । ‘बितेको ३ वर्ष यो बिजनेसमा कुनै फाइदा थिएन,’ उनले भने, ‘अहिले सबै ब्यापार बढेको सुनेको छु, मेरोमा पनि शतप्रतिशत बढेको छ । ’
बानेश्वरमा ब्याट्रीको ब्यापार गर्दै आएका धिरज न्यौपानेको अनुभव भन्छ, केही हप्तायता ब्याट्रीको ब्यापार ५० प्रतिशत बढेको छ । पछिल्ला दिनमा घर तथा अफिसमा इन्भर्टर जोड्ने र ब्याट्री फेर्ने ग्राहक विगतको तुलनामा निकै बढेको उनी बताउँछन् ।
के हो व्यापार बढ्नुको कारण ?
व्यापारीहरुका अनुसार इन्भर्टरको ब्यापार बढ्नुमा सबैभन्दा ठूलो कारण अनियमित विद्युत आपूर्ति हो । पछिल्ला तीन हप्तामा लाइन काटिने क्रम ह्वात्तै बढेकाले उपभोक्ताहरुले फेरि इन्भर्टर र जेनेरेटर खोज्न थालेको व्यवसायी बताउँछन् ।
साथै कतिपय स्वास्थ्य संस्थामा कोभिड–१९ का कारण संवेदनशील स्वास्थ्य यन्त्र जडान भएकाले त्यस्तो ठाउँमा पनि जेनेरेटरको माग देखिएको छ । व्यापारी राजन न्यौपानेले इन्भर्टरको व्यापार बढ्नुको अर्को कारण सुनाए, अनलाइन कक्षा । विगतमा बालबच्चाहरु दिनभर विद्यालय हुने भएकाले लाइन आउँदा–जाँदा खासै फरक पर्दैनथ्यो । तर अहिले ५ मिनेट मात्रै झ्याप्प बिजुली गयो भने अनलाइन कक्षा अवरुद्ध हुन भएकाले विकल्पको खोजी हुन थालेको हो ।
‘अनलाइन कक्षा बीचमै डिस्कनेक्ट भएपछि कक्षा चलाउन शिक्षकलाई पनि अप्ठ्यारो, विद्यार्थीलाई अप्ठ्यारो हुनेभयो,’ उनले भने, ‘त्यसमाथि आजभोलि लाइन जाने क्रम बढ्यो । त्यसैले अभिभावकहरु फेरि इन्भर्टर खोज्दै आउनुहुन्छ ।’
केही ग्राहक भने विद्युत प्राधिकरणमा नेतृत्व परिवर्तन भएकाले आत्तिएर पनि पुरानो इन्भर्टरको ब्याट्री फेर्न बढी आउन थालेका छन् । ‘राख्दा राख्दै फेर्नुपर्ने अवस्थामा पुगेका कतिपय ब्याट्री लकडाउनका कारण फेर्न नपाएकाले पनि केही प्रतिशत ग्राहक बढेका हुनसक्छ,’ न्यौपाने भन्छन्, ‘ विगतमा २–५ मिनेट लाइन जाँदा थेगिरहेको ब्याट्रीले अहिले २ घण्टा जाँदा नथेगेको देखेपछि पनि फेर्न आउनेहरु बढेका हुन् ।’
अर्का इन्भर्टर ब्यापारी बिजेन कोइराला इन्भर्टर बढ्नुमा मनोवैज्ञानिक कारण देख्छन् । ‘प्राधिकरणको नेतृत्व परिवर्तनपछि अनलाइन र सामाजिक सञ्जालहरुमा इन्भर्टर, ब्याट्री, जेनेरटरको विज्ञापन बढेका छन्,’ उनी भन्छन्, ‘त्यो देखेर पनि उपभोक्तालाई पनि मनोवैज्ञानिक रुपमा प्रभाव परेको हो ।’
उनका अनुसार जाडो सुरु हुनुअघि विगतमा पनि ब्याट्रीको माग केही बढ्ने गरेको थियो, तर यसपटक बढी लाइन जान थालेपछि उपभोक्तामा त्रास पनि बढेको छ । ‘मान्छेलाई कुलमान घिसिङ नभएपछि विद्युत आउँदैन भन्ने डर छ, झन् यही बेला एकपटक गएको लाइन लामो सयमसम्म नआएपछि विकल्पमा मान्छे गइहाल्छ,’ व्यापारी सुन्दर थापाले भने,‘ यसमा सरकारले नै सोच्नुपर्ने हो ।’
यता नेपाल विद्युत प्राधिकरणले भने कुनै समस्या नआउने भन्दै ग्राहकलाई नाआत्तिन भनेको छ । प्राधिकरणले प्रणालीमा इन्भर्टर थपिएको कुनै संकेत नआएको जनाएको छ । अहिले २४ घण्टा नै बिजुली निरन्तर वितरण भइरहेकाले प्रणलीमा इन्भर्टर थपिएर पनि कुनै समस्या नआउने प्राधिकरणको भनाइ छ ।
‘इन्भर्टर जोड्नुपर्ने अवस्था नै छैन । कसैले जोड्नु भएको छ भने त्यसले हाम्रो प्रणालीलाई असर गर्नसक्ने अवस्था पनि छैन,’ प्राधिकरणका भारप्रेषण केन्द्र प्रमुख सुरेशबहादुर भट्टराई भन्छन्, ‘बरु हामीलाई पर्याप्त खपत नभएर समस्या भइरहेको छ । माग बढ्यो भने त्यसअनुसार बिजुली दिनसक्छौं ।’







