ललितपुरलाई डेंगु महामारीको क्षेत्र घोषणा गर्ने तयारी !

१७ भाद्र, काठमाडौं । पछिल्लो समय ललितपुरमा तीव्र गतिमा डेंगु संक्रमण फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाकाको विवरणअनुसार बिहीबारसम्म ललितपुरमा १४ सय जनामा डेंगु संक्रमण देखिएको छ।

महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलका अनुसार हाल नेपालमा ७२ जिल्लामा डेंगु संक्रमण फैलिएको भए पनि ललितपुर जिल्लामा सबैभन्दा धेरै रहेका छन्।

तीव्र गतिमा संक्रमण फैलिएपछि सरकारले ललितपुर जिल्लालाई डेंगु महामारी क्षेत्र घोषणा गर्नेबारे पनि विज्ञहरूसँग छलफल भइरहेको प्याकुरेलले बताए।

डेंगुको उच्च जोखिममा दश जिल्ला परेका छन् । स्वास्थ्य मन्त्रालयको रेकड अनुसार ललितपुरमा ८५८ जना, रुपन्देहीमा ३६३ जना, काठमाडौंमा ३३२ जना, धादिङ्मा ७३ जना, तेह्रथुममा ६५ जना, सिन्धुलीमा ६१ जना, भक्तपुरमा ५४ जना, संखुवासभामा ५१ जना, अर्घाखाँचीमा ५० जना र गुल्मीमा ४९ जना संक्रमित छन् ।

उक्त जिल्लालाई सरकारले उच्च जोखिममा राखेको छ ।