असोज १२, रसुवा ।
लामो समयसम्म चीनसँगको नाका सहज बन्न नसकेपछि नेपालले नाका खुलाउन प्रयास गरिरहेको छ । तर चीनले नाकामा पिसिआर मेसिन राखेर जाँच गर्न माग गरेको छ ।
नाका सञ्चालन अघि स्वास्थ्य र सुरक्षाको तयारीबारे पत्रमार्फत चिनियाँ पक्षले नेपालसँग चासो राखेको हो । रसुवाको भन्सार कार्यालयलाई पत्र लेख्दै चीनले सुरक्षाका उपाय कडाइका साथ अवलम्बन गर्न आग्रह गरेको हो ।
सामान लिएर आउने मालवाहक सवारी साधनको डिस्इन्फेक्सन र चालक तथा नाकामा कार्यरत सबैको तत्काल पिसिआर हुने अवस्था रहे\नरहेको बारेमा चिनियाँ अधिकारी विश्वस्त हुन खोजेको भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताएका छन् ।
चीनको आग्रहपछि नाका वा जिल्लामा पिसिआर राख्न सम्बन्धित निकायमा पत्राचार गरिएको खड्काले जानकारी दिए । भदौ १७ मा नाकामा काम गर्ने व्यक्तिलाई कोरोना देखिएको भन्दै चिनियाँ पक्षले नाका बन्द गरेको छ ।
हालका लागि चीनतर्फको सडकमा ठाउँ–ठाउँमा पहिरो गएका कारण नाका सहज नभएको बताइएको छ । चिनियाँ नयाँ वर्ष अर्थात् माघ मध्ययता नै चीनसँगका नाका नियमित हुन सकेका छैनन् । जस कारण नेपाली व्यापारीलाई करोडौंको नोक्सान भइरहेको छ ।







