सेनिटाइजरमा मिथानेल भेटियो, नौ कम्पनीमाथि प्रतिबन्ध

असोज १२, काठमाडौं ।
औषधि व्यवस्था विभागका अनुसार नौ वटा सेनिटाइजरमा विशाक्त मिथानेल भेटिएको छ । पुष्टि भएपछि नौ कम्पनीमाथि प्रतिबन्ध लगाइएको विभागले जनाएको छ ।

‘इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजरसम्बन्धी स्तर २०७६’ विपरीत मानव स्वास्थ्यमा असर गर्ने ९ सेनिटाइजरलाई प्रतिबन्धित गरिएको विभागको भनाइ छ । भारतीय कम्पनी शिभिका कस्मेक्युटिकल्सको हर्बल ट्री ह्यान्ड रब, आर केमिकल एन्ड प्याकेजिङ इन्डस्ट्रिज पर्साद्वारा रिप्याक कुम ह्यान्ड स्यानिटाइजर र क्लिन ह्यान्ड स्यानिटाइजरमाथि प्रतिबन्ध लगाएको हो ।

यसैगरी कुमकुम हर्बल इन्डस्ट्रिजका पाँच सय मिलिलिटर र पाँच लिटरका स्यानिटाइजरमाथि प्रतिबन्ध लगाइएको छ । ओम आरोग्य हेल्थ केयर ललितपुरले उत्पादन गरेको ह्यान्ड स्यानिटाइजर, साधना सप्लायर्स काठमाडौंको साधना ह्यान्ड स्यानिटाइजर पनि प्रतिबन्धित गरिएको छ ।

कालिका सोप एन्ड केमिकलले उत्पादन गरेको ड्रोन ह्यान्ड स्यानिटाइजरमाथि विभागले प्रतिबन्ध लगाएको छ । यस्ता स्यानिटाइजरको विक्रि वितरण रोक्नका लागि विभागले सरोकारवालालाई आग्रह गरेको छ ।

यस अघि पनि मापदण्ड भन्दा फरक परेको भन्दै नौ स्यानिटाइजरमाथि प्रतिबन्ध लगाइसकेको छ । यससँगै नेपालमा १८ वटा कम्पनीमाथि सेनिटाइजर उत्पादन र बिक्रि वितरणका लागि प्रतिबन्ध लगाइएको छ ।