काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्रा. डा. केशरजंग बराल नियुक्त भएका छन् ।
त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बराललाई उपकुलपति नियुक्त गरेका हुन् ।
हाल पोखरामा रहेका बराल काठमाडौं फर्केर नियुक्तिपत्र बुझ्नेछन् ।
प्रधानमन्त्री प्रचण्डले उपकुलपति सिफारिसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई नेतृत्वमा समिति गठन गरेका थिए । समितिले चित्रबहादुर बुढाथोकी, बराल र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो ।
प्रधानमन्त्रीले पहिलो नम्बरमा रहेका बुढाथोकीलाई छाडेर बराललाई उपकुलपति नियुक्त गरेका हुन् । सिफारिस समिति स्रोतका अनुसार विभिन्न मापदण्डको आधारमा दिइएको अंकमा बुढाथोकी २ अंकले अगाडि थिए ।
उपप्राध्यापकको रुपमा महेन्द्र मोरङ क्याम्पसबाट अध्यापन सुरु गरेका बराल २०६४ मा पोखरा विश्वविद्यालयको उपकुलपति भएका थिए ।
बरालसँगै काम गरेका एक कर्मचारी भन्छन्, ‘पछिल्लो उपकुलपतिहरुको कार्यशैली हेर्दा राजनीतिक नियुक्ति लिएर आए पनि उहाँले विश्वविद्यालयलाई उचाइमा पुर्याएर छोड्नुभएको महसुस हुन्छ ।’
तर त्यही कारण त्रिविमा पनि उनी नै उपयुक्त भन्न नसकिने एक प्राध्यापक बताउँछन् । ती प्राध्यापक भन्छन्, ‘त्रिवि ठूलो संस्था हो, उहाँको उमेर पनि पाको हुँदै गएकाले त्यही गतिमा काम गर्न सक्नुहोला भन्ने लागेको छैन ।’







