२० जेठ, काठमाडौं । एशियाली विकास बैंक(एडिबी)ले कोरोनासँग जुध्नका लागि नेपाल सरकारलाई झण्डै रु ३० अर्ब बराबरको ऋण सहयोग उपलब्ध गराएको छ। अर्थ मन्त्रालयमा सोमबार आयोजित ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गाना र बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभले हस्ताक्षर गरेका छन्। सो अवसरमा अर्थमन्त्री डा युवराज खतिवडाको पनि उपस्थिति थियो।
सो ऋण रकम सार्वजनिक स्वास्थ्य सेवाको सुदृढीकरण तथा कोभिड–१९ का कारण आर्थिक तथा सामाजिक रुपमा परेको क्षति न्यूनीकरणमा प्रयोग गरिनेछ। गरिब र विपन्न वर्गका लागि सामाजिक संरक्षण कार्यक्रम विस्तार गर्न र तीव्र आर्थिक पुनःरुत्थानमा जानसमेत उक्त रकम उपयोगी हुने बैंकले जनाएको छ।
कोरोना कहरले सार्वजनिक स्वास्थ्यमा समस्या सिर्जना गरेको र नेपालको सामाजिक र आर्थिक विकासमा गहिरो असर गरेको छ। कोभिड–१९ एक्टिभ रेस्पोन्स एण्ड एक्स्पेन्डिचर सहायता (सिएआरइएस) कार्यक्रमअन्तर्गत नेपालले बैंकबाट उक्त ऋण सहायता पाएको हो । ऋण सहयोगबाट सरकारले सातवटै प्रदेशमा कम्तीमा दुई लाख क्वारेन्टिन निर्माण गर्न र दैनिक तीन हजार मानिसको कोरोना परीक्षण गर्न सक्ने एडिबीले जनाएको छ।







