असोज १५, काठमाडौं ।
काठमाडौं महानगरपालिकाले विगत २२ दिनदेखि गरेको अनुगमनका क्रममा व्यापारीबाट जरिवानास्वरुप १२ लाख रूपैयाँभन्दा बढी उठाएको छ । महानगरका अनुसार १२ लाख ८७ हजार रूपैयाँ असुल उपर भएको छ ।
महानगरले तरकारी, फलफूल र खाद्य गरी एक सय २३ पसलमा अनुगमन गरेको थियो । यसरी गरिएको अनुगमनका क्रममा मूल्य र गुणस्तरमा उपभोक्तालाई ठगी गर्ने कालीमाटी तरकारी तथा फुलफूल बजारका दुई र बल्खु तरकारी तथा फलफूल बजारका दुई गरी चार जना व्यापारीलाई कालोबजारीको कसुरमा जिल्ला प्रशासन कार्यालयमार्फत कारवाही अघि बढाइएको छ ।
उनीहरुले ४६ रूपैयाँमा खरिद गरेको प्याजको कृत्रिम अभाव सृजना गरेर एक सय ३० रूपैयाँमा बेचिरहेका थिए । उनीहरूबाट बरामद १३ हजार दुई सय ६८ किलो प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत सबै खर्च कटाएर अधिकतम ६० रूपैयाँ प्रतिकिलाको दरले प्रतिव्यक्ति तीन किलोका दरले बिक्री प्रबन्ध गरिएको छ ।
अनुगमन टोलीले बिक्रीका लागि राखिएका अखाद्य सामग्री बिक्री गरिरहेको अवस्थामा ११ वटा पसलबाट करीब १० लाख मूल्य बराबरका सामान बरामदपछि नष्ट गरिएको छ । यसरी नष्ट गरिएका सामानमा दाल मैदा, खाने तेल, बट्टा वा प्याकेटमा राखिएका खानेकुरा, चकलेट, मिठाइ, बिस्कुट, मसला, जुस, चाउचाउ, चाउमिन, पानीलगायत खानेकुरा तथा पेय पदार्थ छन् ।
खुद्रा व्यापार गर्ने ७६ वटा पसललार्ई सात दिनभित्र दर्ता प्रक्रियामा आउन निर्देशन दिइएको छ । बाँकी पसललाई सुधारका लागि सचेत गराइएको छ । उपभोक्ता अधिकारका लागि नेपालको संविधानको अनुसूची ८ ले र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएको अधिकार प्रयोग गरेर महानगरले नियमित तरकारी, फलफूल र माछामासुको अनुगमन गर्नुपर्ने छ ।
महानगरकी उपप्रमुख एवम् अनुगमन समितिका संयोजक हरिप्रभा खड्गीले कोरोना कहरका समयमा जनताहरु एकातिर आय श्रोत बिग्रिएर चिन्तित भएका बेला चर्को मूल्य वृद्धिले समस्यामा परेकाले नियमित अनुगमन गरेको बताउँछिन् । महानगरका कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीले, अनुगमनका क्रममा यहाँका ठूला तरकारी बजार कालीमाटी, बल्खु, नक्साल, तीनकुने, मनोहरा, माछापोखरी र कुलेश्वरको फलफूल पसल अनुगमन गरिएको जानकारी दिए ।







