असोज १५, काठमाडौं ।
अगस्ट महिनायता जिम्बावेमा मृत्यु भएका ३४ हात्तिको मृत्यु ब्याक्टेरियाका कारण भएको अनुमान गरिएको छ । वन्यजन्तु संरक्षण अधिकारीका अनुसार ती मृत हात्तिको मृत्युको कारण घातक ब्याक्टेरिया हुनसक्छ ।
मृत हात्तिहरू पेटले भुईँ टेकेर बसेको अवस्थामा मृत भेटिएका थिए । यसले उनीहरूको अकस्मात् मृत्यु भएको संकेत गर्छ । शरीरका सबै अंग यथावत् भएकाले शिकारीले मारेको आशंका गरिएको छैन ।
मृत्त हात्तिहरू ह्वांगे नेशनल पार्क र भिक्टोरिया फल्सबीचको क्षेत्रमा भेटिएका हुन् । शव परीक्षणबाट हात्तिको फोक्सो लगायतका अंग सुन्निएको देखिएको छ । जिम्बावेको निकुञ्ज तथा वन्यजन्तु व्यवस्थापन गर्ने निकायले ३४ भन्दा बढी हात्तिको मृत्यु भएको हुनसक्ने आशंका व्यक्त गरेको छ ।
केही महिनाअघि बोत्स्वानामा ब्याक्टेरियाबाट उत्पादित विषका कारण सयौं हात्ति मरेका थिए । त्यहाँ तीन सय ३० वटा हात्तिको ज्यान गएको थियो । कारण खोज्दै जाँदा जलवायू परिवर्तनका कारण त्यहाँको पानीमा सायनोब्याक्टेरिया नामक ‘एल्गी’ ले बनाएको विषाक्त पानी खाएर ती हात्ति मरेका थिए ।
यसरी दुई स्थानमा ठूलो संख्यामा हात्तिको मृत्यु भएपछि अफ्रिकामा हात्तिको संख्या आधा भएको अनुमान गरिएको छ ।
(एजेन्सी)







