विदेशी पाइलटलाई बढी तलब दिएको छैन : निगम

असोज १५, काठमाडौं ।
नेपाल वायू सेवा निगमले विदेशी पाइलटलाई धेरै तलब सुविधा दिएको भनी विभिन्न सञ्चारमाध्यममा आएका समाचार तथ्यहीन र आधारहीन भएको बताएको छ । ती समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्ति जारी गरी निगमले पाइलटको सेवा सुविधासम्बन्धी समाचारको खण्डन गरेको छ ।

केहीदिनयता अनलाइन, प्रिन्ट संस्करण तथा टेलिभिजनमा स्वदेशी पाइलटलाई कम र विदेशीलाई धेरै तलब दिएको भन्दै समाचार सार्वजनिक भएको थियो । साथै स्वदेशीलाई कम उडान दिएर विदेशीलाई धेरै उडान दिएको भन्ने समाचारप्रति पनि निगमले आपत्ति जनाएको छ ।

नेपाल एयरलाइन्सले विदेशी विमानचालक (पाइलट) ले भन्दा नेपाली पाइलटले धेरै तलब बुझ्ने गरेको जनाएको छ । कोभिड–१९ महामारीको प्रभावका कारण विदेशी पाइलटलाई बेतलबी बिदादेखि करार अवधिसमेत छोट्याएसँगै नेपाली पाइलटको न्यूनतम तलब बढेको विज्ञप्तीमा उल्लेख छ ।

निगमले कोभिड–१९ महामारीको विषम परिस्थितिमा आवश्यक स्वास्थ्य सामग्री ल्याउन र विभिन्न देशमा अलपत्र परेका नागरिकलाई स्वदेश ल्याउन नेपाली तथा विदेशी पाइलटहरुको महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाएको छ ।

जुलाईको तथ्याङ्कअनुसार नेपाली पाइलटले न्यूनतम ५ लाख २९ हजार एक सय ८७ रुपैयाँ बुझेका छन् । त्यही समयमा विदेशी पाइलटले चार लाख ८० हजार मात्र बुझेका छन् । निगमले जारी गरेको विज्ञप्तीमा २०७६ चैतदेखि विदेशीका हकमा ५० देखि ६० प्रतिशतसम्म सेवा सुविधा एवम् पारिश्रमिक कटौती गरिएको, करार अवधि समाप्त भएका सात जना विदेशी पाइलटको करार सेवा नवीकरण नगरिएको र हाललाई न्यूनतम सङ्ख्यामा उडानहरु भर्न सक्ने गरी ६ जनामात्र विदेशी पाइलट राखिएको बताइएको छ ।

योसँगै हाल करार सेवामा रहेका विदेशी पाइलटलाई उनीहरुको सेवा सुविधा तथा पारिश्रमिकमा ६६ प्रतिशतसम्म कटौती गरी करार नवीकरणको अवधिसमेत छोट्याइएको छ । निगम सञ्चालक समितिको निर्णयअनुसार पछिल्लो पटक विदेशी पाइलटको करार नवीकरण गरी खुद तलब प्रतिमहिना ४ हजार अमेरीकी डलर र बसोबास खर्च १ हजार अमेरीकी डलर मात्र तोकिएको छ ।

एयरवस ३३० को एक विदेशी पाइलटको करार भङ्ग तथा अर्का एक पाइलटलाई पूर्ण वेतलबी विदामा राखिएको निगमले जनाएको छ । बन्दाबन्दी शुरु भए लगत्तै प्रभावकारी जनशक्ति योजना व्यवस्थापनका साथै क्रमिक रुपमा भइरहेको सेवा सुविधा तथा पारिश्रमिक कटौती एवम् करार भङ्ग तथा नवीकरण नगरिएका कारण विदेशी पाइलटप्रति निगमको आर्थिक दायित्व र खर्च घट्न गई जुलाई महिनामा जम्मा मासिक ७३ लाख ७१ हजार रूपैयाँ मात्र रहेको जनाएको छ । जुन कोभिड–१९ अघिको तुलनामा ७७ प्रतिशत कम हो ।

यसैगरी निगमको वर्तमान अप्रेसन म्यानुअल ट्रेडिङअनुसार ए ३२० जहाजमा कम्तिमा ६ जना र बढीमा ९ जनासम्म इक्जामिनर प्रशिक्षक पाइलटको जरुरी रहेको र सन् २०१९ मा निगमले तयार गरेका नेपाली प्रशिक्षक पाइलटमध्ये एक जना प्रशिक्षक पाइलट करिव २ महिनाको सेवा मात्र गरी ए ३३० को तालिममा गएका र निगमको ए ३२० जहाज सञ्चालन गर्न प्रशिक्षक पाइलटको अभावले हाल एक जना मात्र विदेशी प्रशिक्षक पाइलट करारमा राखिएको उल्लेख छ ।