काठमाडौं । नेपाल एयरलाइन्सले यही असोज ९ गतेदेखि चीनको ग्वाञ्जाओमा सिधा उडान भर्ने भएको छ । एयरलाइन्सले पहिलोपटक काठमाडौँ-ग्वाञ्जाओ-काठमाडौँ उडान सेवा सुरु गर्ने भएको हो ।
असोज ९ गतेदेखि निगमले हरेक हप्ता तीनवटा नियमित उडान भर्ने तालिका तय गरेको छ ।
एयरलाइन्सले काठमाडौं-ग्वाञ्जाओको एकतर्फी भाडा ३० हजार र दुईतर्फी ५० हजार रुपैयाँ तोकेको छ। हाल यो रुटमा चीनको चाइना साउदर्न र नेपालबाट हिमालय एयरलाइन्सले नियमित उडान गरिरहेका छन्। ग्वाञ्जाओ उडानसँगै नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय गन्तव्य नौ देशका ११ सहरमा पुगेको छ।
हाल एयरलाइन्सले दुई न्यारोबडी र दुई वाइडबडी जहाजमार्फत भारतका दिल्ली, मुम्बई र बैङ्गलुरु, कतारको दोहा, मलेसियाको क्वालालम्पुर, यूएईको दुबई, हङकङ, थाइल्याण्डको बैङ्कक, साउदी अरबको दमाम र जापानको नारितामा उडान भर्दै आएको छ।







