काठमाडौं । व्यावसायिक भिसामा नेपाल बसेर शंकास्पद गतिविधि गरेको आरोपमा चार जना चिनियाँ नागरिकलाई पक्राउ परेका छन्। अध्यागमन विभागले शुक्रबार एक महिला र तीन पुरुषलाई पक्राउ गरेको प्रवक्ता टीकाराम ढकालले बताए।
काठमाडौंको सोह्रखुट्टेस्थित मिलिजुली चोक, म्हैपीबाट उनीहरुलाइ नियन्त्रणमा लिएको ढकालले बताए। ठूलो संख्यामा चिनियाँ नागरिक बस्दै आएको उक्त स्थानलाई चाइनिज हाउजिङका नामले समेत चिनिन्छ। व्यावसायिक भिसा लिए पनि उनीहरूलाई आफ्नो व्यवसाय, कम्पनीको नाम र सो सम्बन्धमा अन्य कुनै पनि जानकारी नभएको पाइएको छ।
उनीहरूले आर्थिक हैसियत कमजोर भएका नेपाली युवतीहरुलाई जागिरको प्रलोभनमा पारेर सामाजिक सञ्जालमा टिकटक बनाउन लगाउने र टिकटकमार्फत् अन्य चिनियाँसँग साथी बनाइ बिहे गर्न लगाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
नेपाली युवतीहरूलाई चीनमा लगेर विवाह गर्ने भनि चीनसमेत पठाएको जानकारी प्राप्त भएको पनि अध्यागमन विभागले जनाएको छ।
नियन्त्रणमा लिइएकामध्ये दुई जना विगत १० वर्षदेखि नेपालमा पर्यटक, अध्ययन र व्यावसायिक भिसा लिएर बस्दै आएको खुलेको छ।
भिसा जाँच गर्ने क्रममा निजहरुले पासपोर्ट र भिसा देखाउन नसकेको तथा अध्यागमनका कर्मचारी र सुरक्षाकर्मीहरुलाई दुर्व्यवहार गरेको पनि ढकालले बताए।
अध्यागमन ऐन, २०४९ को दफा ६ मा विदेशीको प्रवेश, उपस्थिति र प्रस्थानसँग सम्बन्धित लिखत अध्यागमन अधिकृत वा महानिर्देशकले तोकेको कर्मचारीले जुनसुकै स्थान र समयमा जाँच गर्न सक्ने र कब्जामा लिन सक्ने व्यवस्था छ।
अध्यागमन नियमावली, २०५१ मा विदेशीले जुन उद्देश्यको लागि भिसा प्राप्त गरेको हो सोबाहेक अन्य काम गर्न नपाइने व्यवस्था छ। यसरी गैरकानुनी रुपले बसेका विदेशीलाई अनुसन्धानपश्चात महानिर्देशकले ५० हजार रुपैयाँसम्म जरिवाना गर्न र अवधि तोकी वा नतोकी नेपाल पुनः प्रवेश गर्न नपाउने गरी निष्काशन गर्न सक्ने कानुनी व्यवस्था छ।







