काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट तटीय क्षेत्रमा ठूलो क्षति भएपछि प्रधानमन्त्री वालेन्द्र शाह प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि बिहीबार बिहान नुवाकोटको विदुरतर्फ प्रस्थान गरेका छन्।
प्रधानमन्त्री शाहसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल पनि निरीक्षण टोलीमा सहभागी छन्। प्रधानमन्त्री र मन्त्री लम्साल बिहान ९ः३० बजे सडकमार्ग हुँदै प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका हुन्।
संसद् तथा राजनीतिमा सर्वदलीय बैठकका लागि दौडधुप भइरहेका बेला प्रधानमन्त्री शाह भने बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाको कामलाई प्रत्यक्ष रूपमा सहजीकरण गर्न स्थलगत रूपमा खटिएका हुन्। यसअघि उनले उच्चस्तरीय बैठक बोलाएर उद्धार तथा राहत कार्यलाई प्रभावकारी र तीव्र बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।
समय अभावका कारण प्रधानमन्त्री शाहले बिहीबार मुख्यतः विदुर नगरपालिका तथा आसपासका बाढी प्रभावित बस्तीको निरीक्षण गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा उनले स्थानीय प्रशासन, जनप्रतिनिधि तथा सुरक्षा निकायसँग बाढीबाट भएको क्षति, उद्धार तथा राहतको अवस्था र पुनर्निर्माणका विषयमा छलफल गर्नेछन्।
बाढीका कारण अवरुद्ध सडक तथा पुल, विद्युत् लगायतका अत्यावश्यक पूर्वाधार तत्काल सञ्चालनमा ल्याउन र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई तीव्रता दिन प्रधानमन्त्री शाहले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।







