काठमाडाैं – नेपालको गण्डकी प्रदेशको उत्तरी भेगमा अवस्थित हिमालपारिको जिल्ला मनाङका खर्कहरुमा यतिबेला मुस्किलले चौँरी देखिन्छन् । मनाङ ङिस्याङ गाउँपालिका–५ आइसलेक खर्कमा ढुङ्गा माटो धेरै र हरिया घाँस कम देखिन थालेका छन् ।
जाडो मौसममा किसानले आफ्नो घरवरपर पाइने आहारा खोजेर याकचौंरीलाई खुवाउने गर्छन् । दश वर्षदेखि याकचौँरीपालन गर्दै आएका मनाङको नासोँ गाउँपालिका–४ ओडार गाउँका याक चौँरीपालक किसान सुरेश थकालीले समय हिँउ नपर्ने र खडेरी पनि लामो समय भइराख्ने हुनाले मनाङवासीले पानीका मुहान सुक्दै गएको बताउछन ।
उनि भन्छन, “पहिले पहिले जताततै खर्कमा घाँस प्रशस्त पाइन्थ्यो । अहिले चरन क्षेत्र र पानीको मुहान सुक्दै जाँदा याकचौंरीपालनमा समस्या बढ्दै गएको छ ।”
थकालीसँग अहिले ७० वटा याकचौँरी छन् । घाँसको अभावमा थकालीले बजारबाट किनेर ल्याएको नाइट्रोजनको दाना खुवाएर पाल्ने गरेको बताउछन । “करिब पाँचदेखि १० वर्षको अन्तरालमा कुनै वर्ष बढी पानी र हिउँपर्ने हुन्छ भने कुनै वर्ष न पानी न हिउँ पर्छ”, किसान थकाली भन्छन, “सन् २०२० मा भएको अत्यधिक हिमपातले जनजीवन मात्रै नभइ याकचौँरीलाई आहार पु¥याउन समस्या भयो ।” अत्याधिक चिसो र हरियो घाँसपात र अन्य पौष्टिक आहारको कमीले मनाङमा सयौँ किसानको गोठ खाली भएको अनुभव थकाली सुनाउछन ।
मनाङको नाम्के खर्क, क्याङ, माथिल्लो मनाङ, आइसेलेक क्षेत्रमा नै अनावृष्टि, अतिवृष्टि हुँदा पशुपालनमा मात्रै नभइ भू–क्षय जस्ता विपदबाट स्थानीय किसानलाई चौँरीपालनमा थप समस्या भएको छ । वर्षा र हिमपात पर्ने समय फेरिएकाले किसान चौंरीपालन गर्ने आत्मविश्वास घट्दै थएको थकाली बताउछन ।
हिमपहिरो जानु, हिमताल सक्नु, याकचौँरीका खर्क घाँसे मैदान) बगरमा परिणत हुँदैगएको मनाङका स्थानीय बासिन्दा बताउँछन् । पानीको अभावले घाँसे मैदान बगरमा परिणत भएपछि याकचौँरीलाई आहार पु-याउन चुनौतीपूर्ण भएको उनीहरुको भनाइ छ ।
नासोँ गाउँपालिका–४ ओडारका चौँरीपालक किसान खरमान गुरुङ भन्छन, “विगतमा हिउँपर्ने समय एउटै हुन्थ्यो । अहिले कुन बेला हिँउ पर्छ भन्ने थाहा हुँदैन ।” पहिले पहिले हिमपात हुने समयमा बढी चिसो भएपछि गोठ सार्ने गरिन्थ्यो तर अहिले हिउँ पर्ने समयको ठेगान नै नहुँदा पशुचौपायाको आहार व्यवस्थापन गर्न सकस हुने उनि बताउछन ।
पाँच वर्षअघि भएको हिमपातमा गुरुङको ६३ वटा याकचौँरी मरेका थिए । त्यसपछि उनि थप चौँरी पाल्नलाई आँट नगरेको बताउछन । “पानी र खडेरीको विपदले हामी किसान हतोत्साहित भएका छौँ, कहिले हिमपातले त कहिले गर्मीले याकचौँरी मर्छन्”, गुरुङ भन्छन ।
राष्ट्रिय कृषि जनगणना २०७८ अनुसार नेपालमा हिमाली क्षेत्रमा बसोबास गर्ने १० हजार परिवारको जीविकोपार्जनको प्रमुख स्रोत याकचौंरीपालन हो ।
पछिल्ला वर्षमा बढ्दो खडेरीका कारण पानीका मुहान सुक्ने र नयाँ घाँसपात पलाउन नसक्ने समस्या देखिएपछि चौँरीपालन व्यवसाय कष्टकर बन्दै गइरहेको छ । याकमा आधारित उनीहरूको सांस्कृतिक पहिचान र सामाजिक जीवनशैलीमासमेत गहिरो सङ्कट सिर्जना गरेको छ ।
चौँरी हिमाली समुदायका लागि जीविकोपार्जनसँगै धार्मिक आस्था, संस्कार सांस्कृतिक पहिचानसँग गहिरो रुपमा जोडिएको आधारशीला हो । तर, याकचौँरीपालन घट्दै जाँदा घ्यू, दही र छुर्पिजस्ता परम्परागत वस्तुसँगै खर्क संस्कृति, चाडपर्व र दैनिक जीवनशैली नै सङ्कटमा पर्दै गएको नारका ८४ वर्षीय साङ्मा टासी लामा बताउछन ।
कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार नेपालमा हाल ७१ हजार ९१३ हजार याक-नाक-चौँरी रहेका छन् । सन् १९६० को दशकमा यसको सङ्ख्या करिब दुई लाख थियो । तथ्याङ्कअनुसार याकको सङ्ख्या पछिल्ला तीन वर्षमा १५ प्रतिशतले वृद्धि भएको छ ।मन्त्रालयका अनुसार ६० प्रतिशत चौँरीहरु खर्क क्षेत्रमा पालिन्छन् । एक खर्कमा सामान्यतः १५ देखि ५० चौँरीसम्म पालिएको पाइन्छ । खर्कमा नै दूध, घ्यू, छुर्पी, पनिर उत्पादन गरिन्छ ।
जलवायुको प्रभाव
विश्वभर जलवायु परिवर्तनको असर नेपालमा पनि प्रत्यक्ष रुपमा देखिएको छ । यसको असर बढी हिमाली क्षेत्रमा पर्दा यहाँका खेतीपातीका साथै पशुपालनमा पनि समस्या पर्दै गएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोहन लामिछानेले जानकारी दिए ।
“पछिल्लो समय विशेष गरेर हिमाली क्षेत्रमा अझ बढी प्रभाव परेको देखिएको छ” उनले भने, “प्रत्येक वर्ष तापक्रम बढ्दै जाँदा आवश्यकताभन्दा बढी पानी तथा हिमपात हुने मौसमी प्रणाली देखिन्थ्यो तर अहिले सक्रिय भएको मौसमी प्रणाली देखिएको छैन ।”
हिमाली क्षेत्रमा तापक्रम वृद्धिले यस क्षेत्रका कृषि, पशुपालन लगायतमा प्रभावित भएको बताउँदै उनि भन्छन, “जति तापक्रम बढ्दै जान्छ, त्यति नै पशुपालन, कृषि क्षेत्रमा असर गर्दै जान्छ । तापक्रम वृद्धिले नै बाढी, पहिरोलगायतका विपद् आउने हुन्छ ।” सुख्खापनले कृषि, पशुपालनमा प्रभाव पारेको देखिएको उनले बताछन ।
विगतमा एउटै समयमा हिमपात तथा पानी पर्ने भएको अभिलेखमा रहेका छन् । सन् २०२१ मा थोरै समयमा धेरै वर्षा भएको र हिमाली क्षेत्रका बस्ती, चरन क्षेत्र, खेतीयोग्य जमिनमा क्षति पुगेका उनले बताउछन ।
सन् २०२० मा भारी हिमपात, सन् २०२५ मा अकस्मात हिमपात र वर्षाले प्रभाव पारेको अभिलेख पाइएको उनको भनाइ छ । हिमाली क्षेत्रमा छिटोछिटो मौसम परिवर्तन हुँदा बालीनाली फरिने देखिएको लामिछानेको भनाइ छ ।
हिमाली क्षेत्रमा उत्पादन वा बिरुवा नै हुर्कनै नसक्ने भएकामा अहिले उत्पादन भएको पाइएको देखिन्छ । हिउँसँग सम्बन्धित भएर हुने पशुपालनका रुपमा रहेका याकचौँरीपालन तापक्रम वृद्धि हुँदै जाँदा लोप हुने अवस्थामा पुग्न सक्ने उनको अनुमान छ ।







