सुदूरपश्चिममा पछिल्लो २० दिनयता १८ पशुको रेबिजका कारण मृत्यु

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २० दिनयता कम्तीमा १८ पशुको रेबिजका कारण मृत्यु भएको छ । जंगली स्याल र भुस्याहा कुकुरको टोकाइबाट पशु तथा मानिसमा रेबिज फैलिन थालेपछि प्रदेशभर जनस्वास्थ्यमा ठूलो चुनौती थपिएको धनगढीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशी बताछन् ।

“तीन वर्षको अवधिमा तीन सय ७१ पशुमा रेबिजको सङ्क्रमण पुष्टि भइसकेको छ”, उनले भने, “यो त प्रयोगशालालाई जानकारी भएको मात्र हो, यसै बीचमा कम्तीमा पनि पाँच जना मानिसको रेबिज सङ्क्रमणकै कारण मृत्यु भएको जनाकारी भएको छ, धेरैजस्तो त जानकारीमै नआउने भएकाले मृत्युको सङ्ख्या धेरै हुनसक्ने देखिन्छ ।”

रेबिजकै कारण यसै साता बझाङको सुर्मा गाउँपालिका–२ की ७० बर्सिया महिलाको मृत्यु भएको जानकारी आएको वरिष्ठ पशु चिकित्सक जोशीले बताए। उनका अनुसार यसअघि यसै वर्ष असार महिनामा बैतडीमा एक बालकको पनि रेबिजका कारण मृत्यु भइसकेको छ । सबैभन्दा बढी रेबिजको सङ्क्रमण कैलाली र कञ्चनपुर जिल्लामा रहेको छ । आर्थिक वर्ष २०८१८२ मा संकलित एक सय ७० नमुनामध्ये एक सय ३६ मा रेबिज पुष्टि भएको छ ।

सो आर्थिक वर्षमा सबैभन्दा बढी सङ्क्रमण कैलालीमा भेटिएको छ । त्यहाँ संकलन गरिएका ९८ नमुनामध्ये ७८ पोजेटिभ पाइएको छ । त्यसपछि कञ्चनपुरमा ५३ मध्ये ४३, अछाममा सातमध्ये पाँच, बझाङका तीन, डोटीका आठमध्ये छ पोजेटिभ परिणाम आएको छ ।