गोरखा। नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ आगामी प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पुर्ख्यौली क्षेत्रबाट उम्मेदवारी दिने तयारीमा देखिएका छन्।
पार्टी स्रोतका अनुसार उनलाई गोरखा–२, ललितपुर–३ र सर्लाही–३ बाट उम्मेदवारका रूपमा सिफारिस गरिएको छ। तीमध्ये ललितपुर–३ बाट चुनाव लड्ने सम्भावना सबैभन्दा प्रबल देखिएको छ। ललितपुर–३ लाई श्रेष्ठको पुर्ख्यौली थलोका रूपमा लिइन्छ।
उनका परिवारले विगत २५ वर्षदेखि पाटनको चाकुपाट क्षेत्रमा नियमित रूपमा कुलपूजा गर्दै आएको बताइएको छ। श्रेष्ठ स्वयं पनि विगत करिब ४५ वर्षदेखि पाटनमै बसोबास गर्दै आएका छन्।
स्थानीय समाज, सांस्कृतिक गतिविधि र सामाजिक जीवनसँग लामो समयदेखि जोडिँदै आएका कारण ललितपुर–३ बाट उम्मेदवारी दिनु स्वाभाविक र अर्थपूर्ण हुने नेताहरूको बुझाइ छ।
पार्टीभित्रको छलफल र स्थानीय तहको सुझावका आधारमा अन्तिम निर्णय हुने भए पनि, पुर्ख्यौली भूमि र दीर्घ बसोबासलाई आधार मान्दा ललितपुर–३ नै श्रेष्ठको मुख्य रोजाइ बन्ने संकेत देखिएको छ।






