काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मतदाता शिक्षा कार्यक्रमका लागि छापिने नमूना मतपत्रको छपाइ प्रक्रिया सम्पन्न भएको छ। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि करिब १० लाख थान नमूना मतपत्र तयार गरिएको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आयोगका अनुसार सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा नेपाली सेनाको सुरक्षा व्यवस्थाबीच नमूना मतपत्र छापिएको हो। आयोगका सूचना अधिकारी सुमन घिमिरेले समानुपातिक र प्रत्यक्ष (पहिलो हुने विजयी हुने) दुवै प्रणालीका लागि नमूना मतपत्र छापिएको जानकारी दिए।
छपाइ सम्पन्न भएपछि आयोगको टोलीले आजै मतपत्रको निरीक्षण गरी विवरण लिएको छ। समानुपातिक प्रणालीतर्फको नमूना मतपत्र सेतो कागजमा कालो रङ्गमा छापिएको छ भने प्रत्यक्ष प्रणालीका लागि रातो रङ्ग प्रयोग गरिएको छ।
यसैबीच, शुक्रबारदेखि समानुपातिकतर्फ प्रयोग हुने वास्तविक मतपत्रको छपाइ सुरु हुने सूचना अधिकारी घिमिरेले बताए।
मतदाता सचेतनाका लागि १० लाख नमूना मतपत्र छापियो







