असोज, १८ काठमाडौं । भक्तपुर नगरपालिका–८ कालाँचोकमा रोकेर राखिएको बसभित्र एक किशोरी सामूहिक बलात्कारको शिकार भएकी छिन् ।
१७ वर्षीया किशोरीमाथि ३ जना युवाले सामूहिक बलात्कार गरेको खुलास भएको प्रहरीले जनाएको छ । प्रहरीले संलग्न २ जनालाई पक्राउ गरिसकिएको जनाएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरले सामूहिक बलात्कारमा संलग्नमध्ये २ जनालाई पक्राउ गरिएको जानकारी दिएको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको साँगाचोक गढी नगरपालिका–१० घर भएका २२ वर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका–४ घर भएका सूर्य श्रेष्ठ छन् ।
युवतीमाथि सामूहिक बलात्कार भएको बा ३ ख २६१२ नम्बरको बस पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेकामध्ये सिन्धुपाल्चोकको साँगाचोक गढी नगरपालिका–१० घर भएका २२ वर्षीय खड्का बसका चालक रहेका प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार घटना शनिबार साँझ ४ देखि ५ बजेको बीचमा भएको हो । पीडित किशोरी ३ जनाको समूहबाट फुत्केर प्रहरीकहाँ पुगेकी थिइन् ।
रत्नपार्कबाट भक्तपुर लगेर लठ्याउने औषधि खुवाएर आफूमाथि पालैपालो ३ जनाले बलात्कार गरेको पीडित किशोरीले प्रहरीलाई बयान दिएकी छन् ।
बलात्कारमा संलग्नमध्ये अर्का १ जनाको पनि खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।







