चुनावले बढायो अण्डाको खपत, साता दिनमै मूल्य क्रेटमा ७० रुपैयाँले बढ्यो


काठमाडौं । अण्डाको भाउ सातापिच्छे बढ्न थालेको छ। नेपाल लेयर्स कुखुरापालक संघले सोमबार देखि बजारमा लागू हुने गरि अण्डाको भाउ बढाएको हो।
संघले तय गरेको नयाँ मूल्य अनुसार एक्स एल अण्डाको भाउ क्रेटमा ४९५ रुपैयाँ पुगेको छ। एक्स एल अण्डाको मूल्य एक सातामा क्रेटमा ५० रुपैयाँले बढेको हो

त्यस्तै, ठुलो अण्डाको भाउ पनि क्रेटमा ५० रुपैयाँ बढेर प्रति क्रेट ४७५ रुपैयाँ पुगेको छ।

मिडियम अण्डाको भाउ सबैभन्दा धेरै बढेको छ। संघका अनुसार मिडियम अण्डा क्रेटमा ७० रुपैयाँ बढेर ४४५ रुपैयाँमा बिक्री भइरहेको छ।

गत साता संघको मूल्य अनुसार एक्स एल अण्डा ४४५ रुपैयाँ, ठुलो अण्डा ४२५ र मिडियम अण्डा ३७५ रुपैयाँ थियो।

यतिबेला देशभर चुनाव प्रसार चलिरहेको हुनाले अण्डाको खपत धेरै बढ्न थालेको संघका सचिव मदन पोखरेलले बताए।

‘हाल दैनिक ५० लाख गोटा भन्दा बढी अण्डा उत्पादन हुने गरेको छ। चुनावी प्रसारले घरदैलो कार्यक्रम हुँदा अण्डाको माग धेरै छ। भाउ हरेक हप्ता बढ्न थालेको छ,’ उनले भने।

उनका अनुसार हाल भारतबाट तस्करी भएर सेतो अण्डा नेपाल भित्रिरहेको छ। तराईका जिल्लामा भने भारतीय अण्डा बिक्री वितरण भइरहेको उनले जानकारी दिए।