आइसियूबाट हामफालेर आत्महत्या

असोज १९, विराटनगर ।
विराट अस्पतालमा उपचारका लागि आइसियूमा भर्ना भएका एक बिरामीले सोमबार आत्महत्या गरेका छन् ।

मोरङ मिक्लाजुङ गाउँपालिका–७ का ५३ वर्षीय अमृत गजमेरले आज बिहान अस्पतालको दोस्रो तलाबाट हामफालेर आत्महत्या गरेका हुन् ।

उनी असोज १७ गत्ते फोक्सोसम्बन्धी रोगको उपचारका लागि उक्त अस्पतालमा भर्ना भएका थिए । उनी उक्त अस्पतालको दोस्रो तलामा रहेको आइसियू कक्षमा उपचाररत थिए ।

प्रहरीका अनुसार गर्मी भएको बहाना गर्दै सोमबार बिहान ५ बजे उनी आइसियू कक्षबाट निस्किएका थिए । दोस्रो तलाबाट हामफालेर सिकिस्त भएका उनलाई पुनः आइसियूमा भर्ना गरिए पनि उनको बिहान ९ बजेतिर मृत्यु भएको प्रहरीले बताएको छ ।

आफन्तहरूले भने अस्पतालको हेलचेक्रयाइँले बिरामीको रहस्यमय मृत्यु भएको भन्दै छानबिनको माग गरेका छन् ।

मोरङ प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले मृतक गजमेरको शव पोस्टमार्टमका लागि कोसी अस्पतालमा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।