असोज १९, ललितपुर ।
सातदोबाटो–गोदावरी सडकखण्डअन्तर्गत हरिसिद्धिको मूल सडकमा ढल व्यवस्थापन गरी सडक कालोपत्रे गर्ने तयारी भइरहेको छ ।
लामो समयदेखि अस्तव्यस्त र भद्रगोल सडकलाई व्यवस्थित बनाएर कालोपत्र गर्न सो खण्डमा उक्त काम धमाधम अघि बढाइएको हो । गोदावरी नगरपालिका–१४ ठैव सिमानादेखि ललितपुर महानगरपालिका–२९ हात्तीवनसम्मको सडकमा आकाशे पानीका साथै नाली निकास गर्ने ढल र पाइप हाल्ने काम भइरहेको वडा नं २९ का अध्यक्ष गणेशकुमार महर्जनले बताए ।
उनले भने, ‘यस सडकखण्डमा आकाशको पानी पठाउने ठाउँ नहुँदा बढ्दै गएका खाल्डाखुल्डी र हिलोले कयौँ मोटरसाइकल लडेर दुर्घटना हुने गर्छ । अव्यवस्थित सडकलाई सुधार गरेर जनताको स्वास्थ्यलाई धुलोबाट पनि जोगाउन सडक बनाउन लागेका छौँ ।’
सो सडक मर्मतको काम सकिएसँगै तत्काल यथास्थितिमै कालोपत्र गरिने महर्जनले बताए । उक्त खण्डको खाली जग्गामा पर्खाल लगाएर हरिसिद्धिदेखि गोदावरीसम्ममै सडक अब कालोपत्रको काम अघि बढिरहेको वडा नं २८ का अध्यक्ष राजेश महर्जनको भनाइ छ ।
उनले भने, ‘यही असोज १५ गतेदेखि यस सडकखण्ड सुधारको काम अघि बढेको छ । यसले दैनिक यात्रा गर्ने वडा नं १ गोदामचौर, विशङ्ख, बडिखेल, लेले र बाडेगाउँका बासिन्दाले वैकल्पिक मार्ग प्रयोग गरेर हामीलाई निकै सहयोग गरिरहनुभएको छ ।’
उक्त सडकखण्डमा बिहान ६ः०० बजेदेखि राति ११ः०० बजेसम्म तीन चार डोजरका साथै कामदार खटिएर धमाधम आवश्यक काम गरिरहेका छन् । सो खण्ड भएर दैनिक यात्रा गर्ने जनताले वैकल्पिक मार्गका रुपमा ठैवचोकदेखि महालक्ष्मी नगरपालिकाको सानागाउँ अनि इमाडोल र हरिसिद्धि क्यान्सर अस्पताल पछाडिको मार्गका साथै चापागाउँ छिरेर धापाखेल निस्कने गरिरहेका छन् । (फाइल फोटो)







