असोज २०, काठमाडौं ।
सन् २०२० को ‘मेडिसिन नोबेल’ पुरस्कार हेपाटाइटिस ‘सी’ भाइरस पत्ता लगाउनेले पाउने भएका छन् ।
बेलायती वैज्ञानिक माइकल हाउटन र अमेरिकी वैज्ञानिक हार्वे अल्टरका साथै चाल्र्स राइटले उक्त पुरस्कार पाउन लागेका हुन् । नोबेल पुरस्कारमा उनीहरूलाई छान्ने कमिटिले उनीहरूको खोजका कारण लाखौं ज्यान जोगिएको बताएको छ ।
हेपाटाइटिस सीले लिभरको क्यान्सर गराउँछ । यसै कारण पीडितले लिभर प्रत्यारोपण गराउनुपर्ने हुन्छ ।
सन् १९६० को दशमा यो निकै गम्भीर समस्याका रूपमा देखा परेको थियो । त्यसबेला अरुबाट रगत लिएकामा अज्ञात र रहस्यमय समस्या देखा पथ्र्यो ।
सो दशकमा हेपाटाइटिस ए र बी पत्ता लागिसकेका थिए । तर सन् १९७२ मा हार्वे अल्टरले एक नयाँ भाइरस रहेको पत्ता लगाएका थिए । जुन रगतबाट सर्ने देखिएको थियो ।
पछि सन् १९८९ मा प्रोफेसर माइकल हाउटनले यसको जेनेटिक श्रृङ्खला पत्ता लगाएका थिए । अन्तिममा प्रोफेसर चाल्र्स राइटले रगतबाट यो सर्ने पत्ता लगाएका थिए । उनले सन् १९९७ मा यो कुरा पत्ता लगाएका थिए ।
हाल हेपाटाइटिस सीका लागि एन्टिभाइरस विकास गरिसकिएको छ । हाल विश्वमा यस रोगका सात करोड बिरामी छन् भने वार्षिक झन्डै चार लाख मान्छेको यस भाइरसका कारण ज्यान जाने गरेको छ । (एजेन्सी)







