प्रदेश राजधानीको विपक्षमा मतदान गर्न कांग्रेसको ह्वीप, नाममा भने सहमत

असोज २०, बुटवल ।
नेपाली कांग्रेसले प्रदेश नम्बर ५ को प्रस्तावित स्थायी राजधानीको विपक्षमा मतदान गर्न सांसदहरूलाई ह्वीप जारी गरेको छ । उक्त प्रदेशको नाम लुम्बिनी राख्नेमा भने सहमत भएको छ ।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टि (नेकपा)ले प्रस्ताव गरेको दाङको भालुवाङको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई कांग्रेसले ह्विप जारी गरेको हो । उक्त दल बुटवलमै राजधानी यथावत् राख्ने पक्षमा छ ।

प्रदेश सरकारले संसदमा पेश गरेको प्रस्तावका विपक्षमा मतदान गर्ने निर्णय भएको विपक्षी दल कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडियाले बताए । मंगलबार बस्ने प्रदेश सभा बैठकमा मतदान प्रक्रियाबाट राजधानी तोक्ने निर्णय हुन सक्ने भएकोले दाङको विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलले ह्विप लगाएको हो ।

‘प्रदेशको राजधानी बुटवलमै यथावत राख्नुपर्छ । दाङ सार्ने सरकारको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरिसकिएको छ,’ उनले भने, ‘नाम लुम्बिनी ठीकै छ ।’

प्रदेश सरकारको निर्णयपछि सोमबार आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले स्थायी राजधानी दाङ र प्रदेशको नाम लुम्बिनी प्रस्ताव प्रदेश सभामा लगेका थिए । उक्त प्रस्तावमाथि सोमबार छलफल हुँदा उठेका प्रश्नको जवाफ समेत केसीले दिइसकेका छन् ।

राजधानी र नामबारे छलफल सुरू भएलगत्तै कांग्रेसले प्रदेशसभामा नारावाजी गरेको थियो । कांग्रेसका तीन सांसदले सोमबार कुर्सी, टेबुल र माइक पनि तोडफोड गरेका थिए ।

प्रदेशसभामा ८७ जना सांसद छन् । प्रदेशको नाम र राजधानी तोक्न दुईतिहाइ मत चाहिन्छ । त्यो मत सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीसँग छ ।

नेकपाका ६१ सांसद छन् । ५८ सांसदले पक्षमा मतदान गरे भने नाम र राजधानी तोकिन्छ । दाङ राजधानी सार्न नेकपाका १४ सांसदले विरोध गरे पनि नेकपाले दाङकै पक्षमा मतदान गर्न सोमबार ह्वीप जारी गरिसकेको छ ।

प्रदेशसभामा कांग्रेसका १९ सांसद छन् । यीमध्ये केही सांसद भने दाङ नै राजधानी हुनुपर्नेमा छन् । प्रदेशसभामा जनता समाजवादीका ६ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन् । उनीहरूले कता मतदान गर्छन् खुलिसकेको छैन ।

कांग्रेस सांसद डिल्लीबहादुर चौधरीले दाङका विपक्षमा मतदान गर्ने ह्विप स्वीकार नगर्ने बताए । दाङबाट निर्वाचित सांसद चौधरीले दाङ भालुवाङलाई राजधानी बनाउनुपर्ने बताएका छन् ।

‘ह्विप मान्दैनौँ । बरू म कारवाही भोग्न तयार छु,’ उनले भने । उनले कांग्रेसका ६ जना सांसद दाङ राजधानी हुनुपर्ने पक्षमा रहेको बताए ।

कांग्रेसका दाङ, बर्दिया, रोल्पालगायत जिल्लाका केन्द्रीय सदस्यहरू भने दाङमै स्थायी राजधानी राख्ने पक्षमा देखिएका छन् । दीपक गिरी, किशौरसिंह राठौर, पार्वता डिसी चौधरी, शिला खड्का, गोपाल दहित, मंगलप्रसाद थारू, योगेन्द्र चौधरी, कृष्णकिशोर घिमिरे, सञ्जय गौतम र अमरसिंह पुनले दाङमा प्रदेशको स्थायी राजधानी हुनुपर्ने बताउँदै आएका छन् ।