काठमाडौं । नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएको छ। विपद्को यस कठिन घडीमा सरकारसँगै निजी क्षेत्र पनि राहत, उद्धार तथा पुनर्स्थापनाका प्रयासमा सक्रिय रूपमा अघि बढिरहेको छ।
यसै क्रममा नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले बाढी तथा पहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।
वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशव नेपालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन्।
कम्पनीका लागि यो सहयोग केवल व्यावसायिक क्षेत्रसँग सम्बन्धित सामाजिक उत्तरदायित्वको औपचारिक गतिविधि मात्र नभई विपद्को समयमा नागरिक र राष्ट्रप्रतिको मानवीय जिम्मेवारीका रूपमा लिइएको छ। आफ्नै संरचनामा समेत ठूलो क्षति व्यहोर्नुपरेको अवस्थामा प्रभावित नागरिकको साथमा उभिनुपर्छ भन्ने मान्यताका साथ सहयोग गरिएको वर्ल्डलिंकले जनाएको छ।
आफ्नै संरचनामा ३ करोड ५० लाखको क्षति, तीन दिनमै सेवा पुनःस्थापना
हालैको बाढीबाट वर्ल्डलिंकको नेटवर्क तथा पूर्वाधारमा समेत ठूलो क्षति पुगेको छ। प्रारम्भिक विवरणअनुसार कम्पनीले प्रत्यक्ष रूपमा करिब ३ करोड ५० लाख रुपैयाँ बराबरको क्षति व्यहोरेको छ।
तर, आफ्नै पूर्वाधारमा ठूलो क्षति भए पनि ग्राहक तथा नागरिकलाई लामो समयसम्म इन्टरनेट सेवाबाट वञ्चित हुन नदिन कम्पनीले बाढी आएको तीन दिनभित्रै प्रभावित नेटवर्कको मर्मत तथा पुनःस्थापना गरी सेवा सञ्चालनमा ल्याएको जनाएको छ।
बाढीका कारण सडक, विद्युत् तथा अन्य पूर्वाधारमा समेत समस्या उत्पन्न भएको अवस्थामा वर्ल्डलिंकका प्राविधिक तथा सम्बन्धित टोली प्रभावित क्षेत्रमा खटिएर नेटवर्क मर्मत तथा पुनःस्थापनामा निरन्तर सक्रिय भएका थिए।
वर्तमान समयमा इन्टरनेट केवल व्यावसायिक सेवा मात्र नभई सूचना तथा सञ्चारको माध्यमसँगै उद्धार, राहत र आपत्कालीन समन्वयको महत्वपूर्ण आधारसमेत बनेको छ। त्यसैले विपद्का बेला सञ्चार सेवा निरन्तर राख्नु पनि मानवीय सहयोगकै महत्वपूर्ण हिस्सा भएको वर्ल्डलिंकको बुझाइ छ।
व्यवसायभन्दा माथि मानवता
नेपालको डिजिटल कनेक्टिभिटीमा अग्रणी भूमिका निर्वाह गर्दै आएको वर्ल्डलिंकले व्यावसायिक जिम्मेवारीसँगै सामाजिक तथा राष्ट्रिय उत्तरदायित्वलाई पनि प्राथमिकता दिँदै आएको जनाएको छ।
आफ्नै पूर्वाधारमा करिब ३ करोड ५० लाख रुपैयाँको क्षति व्यहोरेको अवस्थामा समेत १ करोड १ लाख रुपैयाँ सहयोग गर्नुले संकटको समयमा मानवीय संवेदनालाई प्राथमिकता दिएको सन्देश दिएको कम्पनीको भनाइ छ।
वर्ल्डलिंकका लागि नेपाली नागरिक केवल ग्राहक मात्र नभई कम्पनीको सेवा र यात्रासँग जोडिएको समुदायसमेत हुन्। देशका विभिन्न भूगोल र समुदायलाई डिजिटल रूपमा जोड्दै आएको कम्पनीले विपद्को समयमा नागरिकको दुःखमा साझेदार बन्नुलाई आफ्नो सामाजिक तथा राष्ट्रिय दायित्वका रूपमा लिएको छ।
कम्पनीको यो सहयोगले बाढी तथा पहिरो प्रभावित नागरिकको तत्कालीन राहतसँगै पुनर्स्थापना तथा पुनर्निर्माणका प्रयासमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।
राष्ट्र कठिन परिस्थितिमा रहेका बेला निजी क्षेत्रले सरकार र नागरिकसँग हातेमालो गर्दै राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउनु आवश्यक रहेको वर्ल्डलिंकको धारणा छ। यही जिम्मेवारीबोधका साथ आफ्नै संरचनामा क्षति व्यहोरेर पनि प्रभावित नागरिकको साथमा उभिँदै मानवता, सेवा र राष्ट्रप्रतिको उत्तरदायित्वलाई प्राथमिकता दिएको कम्पनीले जनाएको छ।
यससँगै वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफूलाई नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायकका रूपमा मात्र नभई आवश्यक परेको समयमा नेपाली नागरिकको साथमा उभिने जिम्मेवार नेपाली कम्पनीका रूपमा आफु रहेको बताएको छ ।





