असोज २१, चितवन ।
भरतपुर महानगरपालिकाले ‘जोखिममा परेका महिलासँग मेयर कार्यक्रम’ अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई साइकल वितरण थालेको छ ।
पहिलो चरणमा मङ्गलबार महानगरका पाँच वडाका एक सय ३५ छात्रालाई साइकल वितरण गरिएको हो । जसमा वडा नं ६, १३, २२, २३ र २४ का १७ विद्यालयका छात्रा छनोटमा परेका थिए ।
वडा नं २२ को राष्ट्रिय आधारभूत विद्यालय धनौजीमा आयोजित कार्यक्रममार्फत भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले साइकल वितरण शुभारम्भ गरेकी हुन् । विद्यालय शिक्षामा छात्रालाई शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरी छात्रालाई साइकल वितरण गरिएको प्रमुख दाहालले बताइन् ।
उनले भनिन्, ‘महानगरपालिका भित्रका विपन्न, गरिब र जोखिममा परेका परिवारका छात्रालाई साइकल वितरण गरेका छौँ । आगामी दिनमा यसलाई निरन्तरता दिनेछौँ ।’ उनले दैनिक ज्यालादारी गरेर खाने श्रमिकका परिवारलाई प्राथमिकता दिइएको जानकारी दिइन् । ‘वडाको सिफारिसका आधारमा विद्यालय छनोट गरेका हौँ’, उनले थपिन्, ‘यसको सदुपयोगका लागि अनुगमनसमेत गरेका छौँ ।’क
साइकल विरतणपछि टाढा–टाढाबाट विद्यालय आउने छात्राका लागि सहज हुने उनको भनाइ छ । यसले छात्रालाई नियमित विद्यालय आउन उत्प्ररित गर्ने बताउँदै उनले शिक्षा क्षेत्रको विकासमा महानगरपालिकाले चालेको कदम हरेक विपन्न वर्गले अनुभूति गर्ने खालको हुने धारणा राखिन् ।
दाहालका अनुसार महानगरपालिका भित्रका १२ वडाका विभिन्न विद्यालयका तीन सय ३० छात्रालाई क्रमशः साइकल वितरण गरिनेछ । महानगर उपप्रमुख पार्वती शाह ठकुरीले विपन्न परिवारका छात्रालाई लक्ष्य गरी गरिएको यो कार्यक्रमले छात्रालाई विद्यालयमा निरन्तरता गराउन धेरै प्रभावकारी हुने बताएकी छिन् ।
महानगरले आफ्नो आन्तरिक स्रोतबाट मात्रै नौ करोड रूपैयाँभन्दा बढी रकम शैक्षिक विकासमा विनियोजन गरी काम थालेको र केन्द्र तथा प्रदेश सरकारबाट पनि शिक्षामा पर्याप्त बजेट आएको महानगरको शिक्षा शाखाले जनाएको छ ।
गत वर्ष पनि महानगरपालिकाले ‘बालबालिकासँग मेयर कार्यक्रम’ अन्तर्गत न्यानो कपडा र पाठ्यपुस्तक वितरण गरेको थियो । महानगरपालिकाले यो कार्यक्रमलाई प्रत्येक वर्ष निरन्तरता दिँदै आएको छ । (रासस)







