काठमाडाैं – नेपालमा एक वर्षको अवधिमा ६० अर्ब ९६ करोड रुपैयाँभन्दा बढीको कुखुराको मासु कारोबार हुने एक अध्ययनले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘व्यावसायिक कुखुरापालन सर्वेक्षण २०८१/८२’ अनुसार वर्षमा १४ अर्ब ८२ करोडको अन्डा, १० अर्ब २२ करोडको चल्ला र करिब एक अर्ब रुपैयाँबराबरको कुखुराको मल उत्पादन तथा बिक्री हुने गर्छ । नेपालमा कुखुरापालन व्यवसाय उल्लेख्य रूपमा विस्तार भए पनि अझै मनाङ र मुस्ताङमा भने कुखुरापालनसम्बन्धी व्यवसाय सञ्चालनमा नरहेको पाइएको छ ।
सर्वेक्षणअनुसार देशभर २२ हजार नौ सय २८ फार्म तथा कृषकले कुखुरापालन गरिरहेका छन् । तीमध्ये अधिकांश अर्थात् ९२ प्रतिशत किसान मासु उत्पादनमै केन्द्रित छन् । अन्डा उत्पादन गर्ने ७.४ प्रतिशत र चल्ला उत्पादन गर्ने किसानको संख्या अत्यन्तै न्यून ०.५ प्रतिशत मात्रै छ ।
सर्वेक्षणका लागि सन्दर्भ वर्ष र सन्दर्भ दिन गरी दुई किसिमका अवधि लिइएको छ । सन्दर्भ वर्ष भन्नाले १६ पुस ०८० देखि १५ पुस ०८१ सम्मको अवधिलाई मानिएको छ । त्यस्तै, सन्दर्भ दिन भन्नाले गणना भएको दिनलाई मानिएको कार्यालयले जनाएको छ । व्यवसाय गरेको चालू तथा पुँजीगत खर्च, अस्थायी कामदार संख्या, मासु तथा अन्डा उत्पादन तथा बिक्री आदिको विवरण लिँदा सन्दर्भ अवधि १२ महिनालाई मानिएको छ भने स्थायी कामदारको संख्या, फार्ममा रहेका कुखुरा संख्या, कृषि ऋण, व्यावसायिक भवनको प्रयोग आदिलाई लिँदा गणना दिनलाई सन्दर्भ अवधि मानिएको छ ।
यो क्षेत्रमा करिब ६३ हजार आठ सयभन्दा बढी कृषक संलग्न छन्, जसमा पुरुषको संख्या केही बढी भए पनि महिलाको सहभागिता पनि उल्लेख्य देखिन्छ । अधिकांश फार्म व्यक्तिगत स्वामित्वमा सञ्चालन भइरहेका छन् भने ६३.७ प्रतिशत मात्रै सरकारी निकायमा दर्ता भएका छन् ।
व्यवसाय सञ्चालनको हिसाबले पाँचदेखि १४ वर्ष पुराना फार्महरू सबैभन्दा धेरै छन् । साथै, ३५ देखि ४४ वर्ष उमेर समूहका व्यक्तिहरू यस क्षेत्रमा सबैभन्दा बढी सक्रिय देखिएका छन् । शैक्षिक हिसाबले हेर्दा आधाभन्दा बढी व्यवसायीले माध्यमिक तहसम्मको शिक्षा हासिल गरेका छन् ।
कृषकहरूले पालन गरेको कुखुराको संख्या अहिले नेपालमा तीन करोड ३४ लाखभन्दा बढी रहेको पाइएको छ । जसमा ब्रोइलर कुखुराको हिस्सा सबैभन्दा ठुलो छ । तर, रोग तथा अन्य कारणले आधाभन्दा बढी फार्ममा क्षति पुगेको तथ्यांकले देखाएको छ ।
कुखुरापालनमा एक वर्षमा ७९ अर्ब खर्च
आर्थिक पक्ष हेर्दा एक वर्षमा कुखुरापालनमा करिब ७९ अर्ब रुपैयाँ खर्च भएको देखिएको छ । कुखुरापालन व्यवसायमा व्यवसायीको स्थायी सम्पत्ति ६१ अर्बभन्दा बढी पुगेको छ । तर, बिमा र अनुदानमा पहुँच भने निकै कमजोर देखिएको छ । जम्मा चार प्रतिशत फार्मले मात्रै बिमा गरेका छन् भने पछिल्लो तीन वर्षमा ५.६ प्रतिशतले मात्र सरकारी अनुदान पाएका छन् । सर्वेक्षणले सन्दर्भ वर्षमा वार्षिक पाँच सयभन्दा कम कुखुरापालन गरेका वा अन्तिम लटमा दुई सयभन्दा कम कुखुरापालन गरेका फार्म, व्यवसायी तथा कृषकलाई समेटेको छैन । व्यावसायिक रूपमा कुखुरापालन गर्ने कृषक तथा फार्मको विवरण द्वितीय स्रोत (सरकारी निकायहरूसँग भएको सूची, आर्थिक गणना, स्थलगत सूची संकलन आदि)बाट संकलित गरिएको थियो ।
१० वर्षमा कति फेरियो कुखुरापालनको अवस्था ?
नेपालमा व्यावसायिक रूपमा कुखुरापालन गर्ने फार्म तथा कृषकको संख्या ०७२ मा २१ हजार नौ सय ५६ थियो । ०८२ मा बढेर २२ हजार नौ सय २८ पुगेको छ । यस १० वर्षको अवधिमा कुखुरा फार्मको संख्यामा समग्रमा ४.४ प्रतिशतले मात्रै वृद्धि भएको छ ।
सुदूरपश्चिम प्रदेशमा कुखुरा फार्मको संख्यामा सबैभन्दा उच्च ६१.८ प्रतिशतको वृद्धि देखिएको छ । जसले यस क्षेत्रमा कुखुरापालन व्यवसाय तीव्र गतिमा विस्तार भइरहेको देखिन्छ । उक्त अवधिमा लुम्बिनीमा भने १४.३ प्रतिशतले कुखुरापालन खुम्चिएको छ । कर्णालीमा ३.६ प्रतिशतले कुखुरा फार्मको संख्यामा कमी आएको देखिएको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य वृद्धि देखिएको छ । बागमती र गण्डकीमा संख्यात्मक वृद्धि भए पनि कुल हिस्सामा सामान्य कमी आएको देखिएको छ । बागमती प्रदेशमा अझै पनि नेपालको कुल कुखुरा फार्मको सबैभन्दा ठुलो हिस्सा ३४.४ प्रतिशत छ । यद्यपि, दश वर्षको अवधिमा यसको प्रतिशत हिस्सामा सामान्य गिरावट आएको छ । Source : Nayapatrika







