उच्च बिन्दुतर्फ बढ्यो सेयर बजार : ५४ अंकको वृद्धि, २३ अर्ब ५९ करोड रुपैयाँको कारोबार

काठमाडौं– गएको साता समग्रमा ५६.५६ अंकले बढेको सेयर बजारमा यो साता पहिलो कारोबारमा नै उछाल आएको छ। नयाँ सरकार आउने तयारी भइरहँदा पुँजी बजारमा लगानीकर्ताहरू विश्वस्त देखिन थालेका छन्।

साताको पहिलो कारोबारमा आइतबार ५४.५१ अंकले बढेर बजार २९३१.५६ बिन्दुमा पुगेको छ। जसमा २३ अर्ब ५९ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ। यो कारोबार रकम गएको साउन ११ गतेपछिको सबैभन्दा ठूलो हो। गएको साउन ११ गते २६ अर्ब ५७ करोड ७४ लाख रुपैयाँको कारोबार भएको थियो। 

आइतबार सेन्सेटिभ इण्डेक्स २.२४ अंक, फ्लोट इण्डेक्स २.०४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२६ अंकले बढेको छ।कर्पाेरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैैंक, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर,अभियान लद्युवित्त, एनआईसी एसिया लद्युवित्त, भुजुङ् हाइड्रोपावर कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।                         

कारोबार रकमका आधारमा कुमारी बैंकको ८५ करोड ९६ लाख १५ हजार, नेशनल हाईड्रोपावरको ७७ करोड ८७ लाख ७३ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। 

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ। आजको कारोबारमा लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ४‍.२१ प्रतिशत बढेको छ।

गएको साता पहिलो कारोबारमा आइतबार सेयर बजार ४.४५ अंकले बढेको थियो। सोमबार २६.०७ अंकले घटेको बजार मंगलबार १३.५१ अंकले बढेको थियो। बुधबार बन्द रहेको बजार बिहीबार पुन:  ६४.६७ अंकले बढेर २८७७.६७ बिन्दुमा पुगेको थियो। 

लामो समयदेखि स्थिर रहेको सेयर बजार निर्वाचनको नतिजाले नयाँ गति लिएकोमा केही दिन स्थिर देखिएको थियो। अहिले पुन: बजारमा उछाल देखिएको छ। विशेषगरी पुराना दलहरूको विकल्पमा नयाँ शक्तिलाई प्राप्त म्यान्डेटले देशको आर्थिक संरचनामा सुधार र सुशासन आउने अपेक्षामा लगानीकर्ताहरू हौसिएका छन्।

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९.०३ लाई वृद्धितर्फ लागेर नै पार हुने अपेक्षा लामो समयदेखि थाँति भइरहँदा बजारले नयाँ उचाइतर्फको लय समातिरहेको छ।

गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा गएको साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो।

बजारले फेरि २९०० को मनोबैज्ञानिक बिन्दु पार गरेकाले अब नयाँ उचाइ समात्ने अपेक्षामा लगानीकर्ता रहेका छन्। अहिले बजारको अवस्था यकिन आँकलन गर्न नसकिने भए पनि वृद्धितर्फ लाग्न सबै कुरा सकारात्मक देखिएको विश्लेषकहरू बताउँछन्।