असोज २२, काठमाडौं ।
कोराना भाइरसको संक्रमणका कारण चार दिनसम्म अस्पताल बसेर बाहिर निस्केपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले यसको मूल्य चुकाउनुपर्ने बताएका छन् । उनी अहिले काममा फर्किएका छन् ।
अस्पतालबाट फर्केपछि बिनामास्क खिचिएको पाँच मिनेटको एउटा भिडियो सन्देशमा उनले भनेका छन्, ‘ मेरो मान्यता छ कि मलाई कोरोना संक्रमण हुनु ईश्वरको आशिर्वाद हो । एउटा लुकेको आशिर्वाद । म अहिले बिल्कुल ठिक छु । म चाहन्छु कि हरेक अमेरिकी नागरिक सुरक्षित रहुन् ।’
आफूलाई जस्तै उपचार हरेक अमेरिकीले पाउन्, उनले भिडियोमा भनेका छन् । साथै उनले सन्देशमा चीनमाथि पनि शाब्दिक आक्रमण गरे । उनले भनेका छन्, ‘मलाई चिनियाँ भाइरसको संक्रमण भएको हो, यसमा तपाईंहरूको होइन, चीनको गल्ती छ । र चीनले यसको परिणाम भोग्नैपर्छ । चीनले यस देशसँग जे गरेको छ त्यसको मूल्य चुकाउनैपर्छ ।’
ट्रम्पका चिकित्सकले चार दिन यता उनलाई ज्वरो नआएको बताएका छन् । अमेरिकामा तीन नोभेम्बरमा राष्ट्रपतिय चुनाव हुन गइरहेको छ । (एजेन्सी)







