भारतका सिबिआइका पूर्वनिर्देशकले गरे आत्महत्या

असोज २२, काठमाडौं ।
भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) का पूर्वनिर्देशक अश्वनीकुमारले आत्महत्या गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार नागल्यान्डका पूर्वराज्यपालसमेत रहेका उनले बुधबार आफ्नै निवासमा आत्महत्या गरेका हुन् ।

नागल्यान्डको राजधानी शिमलास्थित निवासमा ७० वर्षीय आश्वनीकुमार झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । प्रहरीले घटनास्थलबाट सुसाइड नोट बरामद गरेको छ । जसमा उनले जीवनमा थकित भएपछि अर्को यात्रा तय गरेको उल्लेख गरेका छन् ।

सुसाइड नोटमा अश्वनीकुमारले लेखेका छन्, ‘मेरो रोग र अशक्तताका कारण यो जीवनको अन्त्य गर्दै छु र जीवनको नयाँ यात्रामा लाग्दै छु ।’ हिमाचल प्रदेशका डीजीपी सञ्जय कुन्डुका अनुसार सुसाइड नोटमा अश्वनीकुमारले कसैलाई दोष दिएका छैनन् ।

घटनाबारे गम्भीर अनुसन्धान सुरु गरिएको त्यहाँको प्रहरीले जनाएको छ । सिरमौर जिल्लाको सदरमुकाम नाहनमा जन्मिएका अश्वनीकुमार सन् सन् २००८ देखि २०१० बीच सीबीआईका निर्देशक भएका थिए । त्यसअघि उनी २००६ देखि २००८ सम्म हिमाञ्चलको पुलिस महानिर्देशक (डीजीपी) समेत बनेका थिए ।

परिवारका अनुसार आत्महत्या गर्नुअघि अश्वनीकुमार हिँडेर काली माताको मन्दिर गएका थिए र साँझ ध्यान गरेका थिए । जुन साँझ उनका छोरा र बुहारी पनि हिँड्नकै लागि बाहिर गएका थिए ।

जब उनीहरू घर फर्किए तब ढोका भित्रबाट बन्द गरिएको थियो । ढोका फोरेर हेर्दा उनी झुन्डिएको अवस्थामा फेला परेका थिए । परिवारले पनि अश्वनीकुमारको मृत्युमा कसैको षडयन्त्र शंका गरेका छैनन् । (एजेन्सी)