‘सर्वोच्चको फैसला जित हारको विषय होइन’ : महामन्त्रीद्वय

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली काँग्रेसको आधिकारिकतासम्बन्धि विवादमा दिएको निर्णयलाई महामन्त्री गुरुराज घिमिरेले न्यायपूर्ण भएको टिप्पणी गरेका छन् ।

सर्वोच्चको आदेश आए लगत्तै उनले आफ्नो धारणा सार्वजनिक गर्दै काँग्रेसका सदस्यले आजसम्म देशमा विधि र पद्धतिका लागि अनवरत गरेको संघर्षको प्रतिफल भएको बताएका छन् ।

“यस निर्णयले सबैको आत्मसम्मान र योगदानको कदर गरेको छ । यो कसैको हार वा जित होइन । अब हामी नेपाली काँग्रेसका सबै साथी एकताबद्ध भई पार्टीको १५औँ महाधिवेशनलाई उत्साह र एकताका साथ सम्पन्न गर्न केन्द्रित हुनुपर्छ ।” उनले विगतका सम्पूर्ण वादविवादलाई विस्मृतिमा राखेर काँग्रेसको आन्तरिक एकतालाई सुदृढ पार्दै अघि बढ्नुपर्छ भनेका छन् ।

यस्तै अर्का महामन्त्री प्रदिप पौडेलले काँग्रेसको आधिकारिकता सम्बन्धमा सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने बताएका छन् । उनले भनेका छन् । “यस फैसला कसैका लागि पनि हार वा जितको विषय हुनुहुँदैन । एउटाको जीत वा अर्काको हारका रूपमा व्याख्या गरेर पार्टी एकता खल्बलिने वातावरण आउन नदिन हामी सबै सचेत र सजग हुनु अहिलेको अवस्थामा अनिवार्य आवश्यकता हो ।”