धनगढी – कैलालीमा मरेको ब्रोइलर कुखुुराको मासु खाएर बिरामी भएका दुई बालकको मृत्यु भएको छ । बिहीबार मरेको बोइलर कुखुराको मासु खाएका चुरे गाउँपालिका–३ को भक्तपुर बस्ने ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरू दुवै जना सहोदर दाजुभाइ हुन् । जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक (इन्स्पेक्टर) कैलाश विष्टले दुवै जनाको उपचारका क्रममा शुक्रबार सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको बताए ।
उनका अनुसार ब्रोइलर कुखुराको मासु खाएका मृतककी आमा २८ वर्षीया राधिका ताम्राकार र उनका कान्छा छोरा ३ वर्षीय दिपेश ताम्राकारको प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ ।
घटना बिहीबारको भएपनि प्रहरीलाई शुक्रबार मात्र खबर गरिएको थियो । त्यसपछि प्रहरीको समन्वयमा उनीहरू चारै जनालाई उपचारका लागि धनगढी ल्याइएको थियो । उनीहरूले मरेको कुखुराको मासु स्थानीय विकास पोल्ट्री फार्मबाट खरिद गरेको पाइएको प्रहरीले जनाएको छ ।
फार्म सञ्चालक मंगल साउदले आफैँ इलाका प्रहरी कार्यालय मालाखेतीमा उपस्थित भएर कागज गरेका छन् । उनलाई बोलाएका बखत हाजिर हुनेगरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, धनगढीका वरिष्ठ पशु चिकित्सक तथा कार्यालय प्रमुख डा. नरेश प्रसाद जोशीका अनुसार,स्थानीय फार्ममा गरिएको बर्ड फ्लु परीक्षणमा नतिजा नेगेटिभ आएको छ।
स्रोतका अनुसार, मृतक परिवारले पहिले बाटनै मरेको कुखुरा बंगुरलाई खुवाउने बहाना बनाएर लैजान थालेको पाइन्छ।
विशेषज्ञहरूले नेपालमा पशु बधशाला तथा मासुजाच ऐन लागू नभएका कारण यस्ता समस्याहरू लगातार देखापर्न सक्छन् भनी बताउँछन्।
यो घटनाले जनस्वास्थ्य र पशुपालन क्षेत्रमा कानुनी र व्यवस्थापकीय सुधारको आवश्यकतालाई स्पष्ट पारेको छ।







