काठमाडौँ । वैदेशिक अध्ययनका लागि आवश्यक पर्ने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) अबदेखि विद्यार्थीले घरमै बसेर अनलाइनमार्फत प्राप्त गर्न सक्ने व्यवस्था लागू गरिएको छ।
यससँगै सेवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल र कागजविहीन बनाउने दिशामा नयाँ प्रणाली कार्यान्वयनमा आएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत सानोठिमीस्थित एनओसी शाखाले अनलाइन पोर्टललाई विश्वविद्यालय प्रणालीसँग एकीकृत गर्दै सेवा ‘फेसलेस’ बनाएको हो। यसका लागि त्रिभुवन विश्वविद्यालय सँग हालै सम्झौता सम्पन्न गरिएको छ भने काठमाडौं विश्वविद्यालय सँग पहिल्यै अन्तरआबद्धता कायम भइसकेको जनाइएको छ।
नयाँ व्यवस्थाअनुसार विद्यार्थीहरूले आवेदनदेखि प्रमाणपत्र प्राप्तिसम्मका सबै प्रक्रिया अनलाइन प्रणालीबाट पूरा गर्न सक्नेछन्। स्वीकृत भएपछि प्रमाणपत्र डाउनलोड गरी आफैँ प्रिन्ट गर्न सकिने व्यवस्था मिलाइएको छ।
पहिले विभिन्न विवरण पुष्टि गर्न आवेदकलाई कार्यालयमै उपस्थित हुनुपर्ने अवस्था रहे पनि अब नागरिकताको विवरण गृह मन्त्रालय अन्तर्गतको प्रणालीसँग र शैक्षिक विवरण सम्बन्धित शैक्षिक निकायसँग एकीकृत भएपछि धेरैजसो प्रक्रिया स्वतः डिजिटल रूपमा प्रमाणित हुने भएको छ।
स्नातकोत्तर वा सोभन्दा माथिको अध्ययनका लागि आवेदन गर्दा भने सम्बन्धित विश्वविद्यालयको प्रमाणपत्र आवश्यक पर्ने व्यवस्था यथावत् रहेको छ। यस्ता अवस्थामा विश्वविद्यालय प्रणालीसँग पूर्ण अन्तरआबद्धता नभएकाले केही अवस्थामा भौतिक उपस्थितिको आवश्यकता कायम रहनेछ।
राजस्व संकलनलाई पनि पूर्ण रूपमा अनलाइन बनाइएको छ। यसका लागि महालेखा नियन्त्रक कार्यालय अन्तर्गतको रेभिन्यू इन्फरमेसन क्यासलेस म्यानेजमेन्ट सिस्टमसँग प्रणाली जोडिएको छ।
जारी हुने एनओसी प्रमाणपत्रमा क्युआर कोड समावेश गरिने भएकाले डिजिटल रूपमा प्रमाणीकरण गर्न सकिनेछ। स्वीकृत प्रमाणपत्र आवेदकले आफ्नो प्रोफाइलबाट सीधै डाउनलोड गर्न सक्ने व्यवस्था गरिएको एनओसी शाखाले जनाएको छ।







