पार्टीमा युवालाई आकर्षित गर्न जरुरी छ : सभापति थापा

मोरङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा युवालाई आकर्षित गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस कोशी प्रदेश समितिद्वारा आज विराटनगरमा आयोजित प्रदेशस्तरीय निर्वाचन समीक्षा गोष्ठीमा सभापति थापाले युवालाई पार्टी, इतिहास, विगतमा गरेका कार्य, सुशासन कायम राख्न गरेका कार्य र मुलुकको विकासमा यसको योगदानका विषयमा जानकारी दिनु आवश्यक रहेको बताए ।

सभापति थापाले गत निर्वाचनमा पार्टीको घटेको १० लाख मतका सम्बन्धमा आवश्यक चिन्तन गर्नुपर्ने आवश्यक्ता औँल्याए । उनले स्थानीय र प्रदेशमा अहिले पनि धेरै स्थानमा कांग्रेसको सरकार रहेकाले सुशासन, भ्रष्टाचार नियन्त्रण र जनहितको पक्षमा कार्य गर्नुपर्नेमा जोड दिए ।

कांग्रेसलाई स्मार्ट बनाउन क्रियाशील सदस्यहरुको नवीकरण अद्यावधिक गर्न लागेको उल्लेख गर्दै सभापति थापाले पार्टीका ज्येष्ठ सदस्यको सदस्यता ऐतिहासिक भएकाले यसलाई डिजिटल गरी सुरक्षित गरिने प्रष्ट पारे । उनले आगामी १५औँ महाधिवेशनमा सबैलाई सहभागी गराउने जिम्मेवारी आफ्नो रहेको भन्दै रिसाएका १० लाख मतदातालाई पार्टीमा फर्काइने बताए । उनले पार्टीमा चार पुस्तालाईसँगै मिलाएर सङ्गठन मजबुत गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पार्टी उपसभापति पुष्पा भुसालले हालै सम्पन्न निर्वाचनको परिणामबाट निराश नहुन कार्यकर्तालाई आग्रह गरे । उनले सङ्गठनलाई सुदृढ बनाई पार्टीलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । पार्टी महामन्त्री प्रदीप पौडेलले पार्टीलाई बलियो एवं सुदृढ बनाउन क्रियाशील सदस्यहरुले पार्टीको नीतिका विषयमा घरघरमा जनतालाई जानकारी दिनु जरुरी रहेको बताए ।

पार्टीमा उत्साह र नयाँ जीवन ल्याउन वडास्तरीय सदस्य डिजिटल अद्यावधिक गर्न लागिएको उनले जानकारी दिए । अर्का महामन्त्री गुरुराज घिमिरेले पार्टीलाई पुर्नजीवन दिन वडास्तरदेखि केन्द्रसम्म अद्यावधिक गर्न लागिएको बताए । स्थानीय सरकारले गरेको लोकप्रिय कार्यको प्रचार प्रसार नहुनु पनि निर्वाचनको पराजयको एउटा कारण भएको उनको भनाइ थियो ।