बालेन सरकारको कोशेली: “भ्रष्टाचार मुद्दाले सांसदहरूलाई नछुने”

प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सांगीतिक यात्राका क्रममा प्रयोग गरेको चर्चित गीत ‘गरिबको चमेली बोल्दिने कोही छैन…’ का स्रष्टा एवं जनगायक रामेश्वर श्रेष्ठ (रामेश) ले उक्त गीत अनुमतिबिनै प्रयोग गरिएको बताएका छन्।

यद्यपि, उनले प्रधानमन्त्री शाहविरुद्ध कुनै कानुनी कदम वा रोयल्टीको दाबी नगर्ने सुनाए। गीतको मर्मअनुसार गरिब र निमुखाको पक्षमा काम गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।

नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा बोल्दै गायक रामेशले यस्तो प्रतिक्रिया दिएका हुन्।

‘बालेनजीले यो गीतलाई र्‍याप बनाएर गाउँदा हामीसँग कुनै अनुमति लिनुभएको छैन। मैले त धेरै पछि मात्र यो कुरा थाहा पाएँ,’ गायक रामेशले भने, ‘तर, हामीलाई रोयल्टी वा पैसाको कुनै मतलब छैन। उहाँले राम्रो उद्देश्यका लागि प्रयोग गर्नुभएको हो र गरिबको पक्षमा साँच्चै काम गर्नुहुन्छ भने हामी त्यसैमा खुसी हुन्छौं।’

गायक रामेशले विगतका राजनीतिकर्मीहरूले पनि आफ्नो गीतलाई सत्तामा पुग्ने भर्‍याङ मात्र बनाएको गुनासो गरे।

उनले भने, ‘हिजोका नेताहरूले पनि यही गीतहरु गाएर जनतालाई आन्दोलनमा उतारे, तर सत्तामा पुगेपछि गरिबलाई बिर्सिएर आफैँ नवधनाढ्य बने। अब नयाँ पुस्ताका नेताहरूले पनि गीतलाई भर्‍याङ मात्र बनाउने हो र व्यक्तिगत महत्त्वाकांक्षा पूरा गर्न प्रयोग गर्ने हो भने त्यो गीतमाथिको ठूलो अन्याय हुनेछ।’

कार्यक्रममा उनले भने, ‘उहाँ (बालेन) आउनुभएको छ, स्वागत छ। तर, उहाँले पुराना शासकहरूको प्रवृत्ति दोहोर्‍याउनु भएन। जुन गीत गाएर उहाँले युवाहरूको मन जित्नुभयो, त्यो गीतको भावना मर्न दिनुभएन।’

प्रधानमन्त्री शाहले र्‍याप शैलीमा यसलाई गाएपछि युवा पुस्तामाझ यो थप लोकप्रिय बनेको थियो। तर, स्रष्टा रामेशले भने गीत गाएर मात्र नहुने भन्दै व्यवहारमै ‘गरिबको चमेली’ को पक्षमा काम गरेर देखाउन सत्ता सञ्चालकहरूसँग आग्रह गरे।