चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय, भेटेरिनरी संकायका प्राध्यापक डा. रेवन्तकुमार भट्टराई नेपाल पोल्ट्री व्यवसायी मञ्चको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।
भेटेरिनरी माइक्रोबायोलोजीका प्राध्यापक तथा विश्वविद्यालयअन्तर्गत भेटेरिनरी शिक्षण अस्पतालका निर्देशकसमेत रहेका डा. भट्टराई शुक्रबार नेपाल पोल्ट्री व्यवसायी मञ्चको १७औं साधारण सभा तथा १०औं अधिवेशनबाट २ वर्षे अवधिका लागि नयाँ कार्यसमितिको अध्यक्ष पदमा निर्वाचित भएका हुन्।
उनी केही ह्याचरी तथा दाना उद्योगहरूमा पनि संलग्न रहेको बताइन्छ।
यसैगरी, मञ्चको महासचिवमा डा. विष्णु हरि पोखरेलसहित वरिष्ठ उपाध्यक्षमा कृष्णहरी लोहनी, प्रथम उपाध्यक्षमा ज्ञानबहादुर बिसुराल र द्वितीय उपाध्यक्षमा रामकुमार चौहान निर्विरोध निर्वाचित भएका छन्।
त्यस्तै सचिवमा कपिलबाबु खनाल र कोषाध्यक्षमा हरिकृष्ण खनाल निर्वाचित भएका छन् । वरिष्ठ सदस्यहरूमा नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेल, नेपाल पोल्ट्री सप्लायर्स संघका अध्यक्ष महेश्र पोखरेल र वीरबहादुर गुरुङ चयन भएका छन् । सदस्यहरूमा जनार्दन अधिकारी, सुदर्शन जोशी, तुलसीप्रसाद सुवेदी र मदनचिरन्जीवी पोखरेल निर्वाचित भएका छन् ।







