सरकारद्वारा दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौँ । सरकारले दुई अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी तथा सहकारी समस्या समाधानसम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको हो ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार मंगलबार दिउँसो अध्यादेशसम्बन्धी मन्त्रिपरिषद्को पत्र प्राप्त भएको छ । ‘केहीबेरअघि दुई अध्यादेश आएको छ, यसबारे राष्ट्रपतिले परामर्श गर्दै हुनुहुन्छ,’ स्रोतले जनाएको छ ।

सरकारले संवैधानिक परिषद् सञ्चालनलाई सहज बनाउन तथा बहुमतका आधारमा निर्णय गर्न सकिने व्यवस्था मिलाउने उद्देश्यले अध्यादेश सिफारिस गरेको स्रोतले जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदीय दलको नेता चयनमा ढिलाइ गरेपछि यस्तो प्रक्रिया अघि बढाइएको बताइएको छ । यद्यपि, काँग्रेसले सोमबार नै संसदीय दलको नेता चयन गरिसकेको छ ।

संवैधानिक परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहने तथा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख र विपक्षी दलका नेता सदस्य रहने संवैधानिक व्यवस्था छ । परिषद् बैठक बस्न नसक्दा सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया प्रभावित हुँदै आएको छ ।