काठमाडौँ- प्रतिनिधि सभाका सभामुख डीपी अर्यालसँग नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा नेपाल-चीन द्विपक्षीय सम्बन्ध, संसदीय सहकार्य, विकास साझेदारी तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान भएको सभामुख सचिवालयले जनाएको छ ।
भेटका क्रममा सभामुख अर्यालले नेपाल-चीन सम्बन्ध ऐतिहासिक, मैत्रीपूर्ण तथा पञ्चशीलको सिद्धान्तमा आधारित रहेको उल्लेख गर्दै सम्बन्धलाई थप सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिएका छन् । उनले एक चीन नीतिप्रति नेपालको प्रतिबद्धता दोहोर्याउँदै नेपालको भूमि कुनै पनि छिमेकीविरुद्ध प्रयोग हुन नदिने स्पष्ट पारे ।
सभामुखले वर्तमान सरकार विकास, सुशासन, भ्रष्टाचार नियन्त्रण तथा प्रविधि प्रवर्द्धनमा केन्द्रित रहेको उल्लेख गर्दै चीनको सहयोग र सहकार्य अपेक्षित रहेको बताए । साथै सरकारको १०० बुँदे कार्ययोजना कार्यान्वयनको चरणमा रहेको जानकारी गराउँदै राजनीतिक संक्रमणकालमा चीनले देखाएको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।
उनले संघीय संसद्का दुवै सदन, संसदीय समिति तथा मैत्री समूहमार्फत अन्तरसंसदीय सम्बन्ध विस्तार गरिने उल्लेख गर्दै आफ्नो कार्यकालमा प्रभावकारी संसद् निर्माण गर्ने प्रतिबद्धता जनाए ।
व्यापार, लगानी, पूर्वाधार विकास, सीमा नाका स्तरोन्नति तथा कनेक्टिभिटी सुदृढीकरणमा जोड दिँदै उनले बेल्ट एन्ड रोड इनिसिएटिभ कार्यान्वयनमा गति दिनुपर्ने धारणा राखे । बहुपक्षीय मञ्चहरूमा सहकार्य, सांस्कृतिक आदानप्रदान र जनस्तरको सम्बन्ध विस्तारमा नेपाल प्रतिबद्ध रहेको पनि उनले बताए ।
राजदूत माओमिङले सभामुखसँगको भेटलाई महत्वपूर्ण अवसरका रूपमा लिँदै चीनको राष्ट्रिय जनकंग्रेसका तर्फबाट शुभकामना सन्देश तथा बधाई पत्र हस्तान्तरण गरेका थिए ।
उनले नेपाल–चीन सम्बन्ध आपसी सम्मान, असल छिमेकीपन र सहअस्तित्वमा आधारित रहेको उल्लेख गर्दै द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुगेको बताए । चीनले नेपाललाई महत्वपूर्ण छिमेकीका रूपमा लिँदै आएको उल्लेख गर्दै नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको समर्थन निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे ।
राजदूत माओमिङले एक चीन नीतिप्रति नेपालको प्रतिबद्धताको प्रशंसा गर्दै ताइवान र तिब्बतसम्बन्धी नेपालको नीति निरन्तर रहने विश्वास व्यक्त गरेका छन् ।
उनले नेपालको नयाँ सरकारले अघि सारेका सुधार, सुशासन, आर्थिक विकास तथा स्थायित्वका प्रयास सकारात्मक रहेको टिप्पणी गर्दै युवा नेतृत्वले नेपालमा नयाँ ऊर्जा र सम्भावना सिर्जना गर्ने विश्वास व्यक्त गरे ।
यसैबीच प्रतिनिधिसभा र चीनको राष्ट्रिय जनकंग्रेसबीच सहकार्य विस्तार, उच्चस्तरीय भ्रमण आदानप्रदान तथा अनुभव साझेदारी आवश्यक रहेको उल्लेख गर्दै सभामुख, सांसद तथा संसदीय पदाधिकारीहरूलाई चीन भ्रमणको निम्ता समेत दिएका छन् ।







