विराटनगर जुटमिलको अनधिकृत बस्ती हटाइने 

काठमाडौँ । विराटनगर जुट मिलको जग्गा ओगटेर अनधिकृत रूपमा बसोबास गरिरहेकालाई आगामी एक साताभित्रमा हटाइने भएको छ ।

जुटमिलको हडताली हाट क्षेत्र, दक्षिण गेट, हरिनगरा भट्टा क्षेत्रमा अनधिकृत रूपमा बसोबास गरिरहेका परिवारलाई हटाइने भएको विराटनगर जुटमिल सञ्चालक समितिका अध्यक्ष राजेन्द्र कार्कीले जानकारी दिए ।

जुटमिलको करिब १४ बिगाहा क्षेत्रफलमा अतिक्रमण गरी करिब छ सय घरपरिवार बसोबास गरिरहेका छन् ।

यसैगरी, जुटमिलको सडक किनारा क्षेत्रमा भाडा नतिरी विगतदेखि पसल व्यवसाय सञ्चालन गरिरहेकाहरूलाई समेत हटाइने भएको छ ।

सडक किनारा क्षेत्रमा भाडा नतिरी करिब ३० वटा पसल व्यवसाय सञ्चालनमा रहेको बताइएको छ ।

संघीय सरकारको निर्णयअनुसार आगामी एक साताभित्रमा अनधिकृत रूपमा बसोबास गरिरहेका परिवारहरू र भाडा नतिरी पसल व्यवसाय सञ्चालन गरिरहेकाहरूलाई हटाउने प्रक्रिया अघि बढिसकेको उनले बताए ।

भाडा तिरेर पसल व्यवसाय गरिरहेकाहरूलाई वैकल्पिक व्यवस्था गरिने र नतिर्नेहरूलाई प्रशासनको सहयोग लिएर असुल गरिने उनले बताए । मिलको अतिक्रमित जग्गामा केही व्यक्तिहरू मिलेर गार्मेन्ट उद्योग समेत सञ्चालन गरिरहेका छन् ।

जुटमिलमा कार्यरत कर्मचारीका लागि बनाइएको आवासहरू अवकाश पछि पनि नछाड्ने र धेरै बाहिरी व्यक्तिले अतिक्रमित गरेर बसोबास गरिरहेको प्रशासन प्रमुख श्याम लामाले जानकारी दिए।

विराटनगर जुटमिल १९९३ सालमा स्थापित नेपालको पहिलो उद्योग हो । पछिल्लो पटक २०७० सालदेखि यो बन्द छ । संरक्षण अभावमा उद्योगका धेरै सामान चोरी हुनाका साथ लामो समयदेखि प्रयोगविहीन हुँदा मेसिनहरू खिया लागेर काम नलाग्ने अवस्थामा पुगेको छ ।