वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार दैलेखको नौमुले गाउँपालिका–८ का २९ वर्षीया ज्वालाकुमारी चन्द, कास्कीको पोखरा महानगरपालिका–१२ का ३९ वर्षीया भीमकुमारी गुरुङ र गोरखाको सिरानचोक गाउँपालिका–६ का ३७ वर्षीय भगवान्राज ठकुरीलाई मङ्गलबार पक्राउ गरिएको हो ।

पक्राउ परेकामध्ये ज्वालाकुमारीले अजरबैजान पठाइदिन्छु भन्दै एक जना पीडितबाट रु. तीन लाख ३४ हजार, भीम कुमारीले हङकङ पठाइदिन्छु भनेर अर्का एक जना पीडितबाट रु. पाँच लाख र भगवान्राजले बेलायत पठाइदिने प्रलोभनमा एक रु.लाख २० हजार ठगेका थिए ।

पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । अभियुक्तहरूलाई कारबाहीको लागि ताहाचलस्थित वैदेशिक रोजगार विभाग पठाइएको छ ।