नेपाल भेटेरिनरी एसोसिएसनद्वारा सुकुम्बासी बस्तीमा पशु उद्धार तथा उपचार अभियान

काठमाडौं। नेपाल भेटेरिनरी एसोसिएसन को आयोजनामा सुकुम्बासी बस्तीमा रहेका पशुहरूको उद्धार तथा उपचार गर्ने कार्य तीव्र रूपमा अघि बढाइएको छ। यसै क्रममा आज काठमाडौंको बल्खु स्थित सुकुम्बासी बस्तीमा एसोसिएसनका चिकित्सकहरूको सक्रिय सहभागिता देखिएको छ।

एसोसिएसनका अध्यक्ष डॉ. केदार सुबेदी को नेतृत्वमा गएको चिकित्सकहरूको टोलीले बस्तीमै पुगेर घाइते तथा चोटपटक लागेका कुकुर र बिरालोलाई प्राथमिक उपचार प्रदान गरेको छ।

उद्धार तथा उपचार कार्यक्रममा नेपाल भेटेरिनरी काउन्सिल का उपाध्यक्ष डॉ. मनोज कुमार शाही, एसोसिएसनका सचिव डॉ. विशाल पोखरेल लगायत वरिष्ठ पशु चिकित्सकहरू डॉ. हरि दाहाल, डॉ. आभास पौडेल, डॉ. कमलेश्वर भाट, डॉ. विकास बोहरा, डा सुशिल राय सहित अन्य चिकित्सक सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रम अन्तर्गत कुकुर तथा बिरालोलाई प्राथमिक उपचार उपलब्ध गराउनुका साथै दीर्घकालीन बसोबास व्यवस्थापनका लागि अन्य सम्बन्धित संस्थासँग समन्वय गर्ने प्रतिबद्धता समेत एसोसिएसनले जनाएको छ।

यस अभियानले सुकुम्बासी बस्तीमा रहेका असहाय पशुहरूको संरक्षण र कल्याणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।