काठमाडौँ – धनुषा जिल्लामा ठुलो मात्रामा लागूऔषध गाँजा बरामद गर्दै दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
विशेष सूचनाका आधारमा गरिएको कारबाहीका क्रममा उक्त परिमाणको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रहरीका अनुसार डिएसपी गणेशबहादुर बमको नेतृत्वमा खटिएको टोलीले धनुषाको मुसहर्निया गाउँपालिका-६ स्थित लक्ष्मिनियाँ क्षेत्रमा शंकास्पद गतिविधि देखिएपछि निगरानी तथा नियन्त्रण अभियान सञ्चालन गरेको थियो।
शुक्रबार बिहान प्राप्त सूचनालाई आधार बनाउँदै गरिएको सो कारबाहीमा पाँच वटा बोरामा राखिएको १३७ केजी गाँजा बरामद गरिएको प्रहरी प्रवक्ता बमले जानकारी दिएका छन्।
साथै, घटनास्थलबाट बीआर ३२ डी ५८८२ नम्बरको मोटरसाइकल र दुई थान मोबाइल फोन पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा स्थानीय २६ वर्षीय गणेश कुमार यादव र २४ वर्षीय जितेन्द्र कुमार यादवलाई पक्राउ गरिएको छ।
प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर लागूऔषधसम्बन्धी कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ। साथै, यस घटनासँग सम्बन्धित अन्य सम्भावित व्यक्तिहरूको खोजी तथा अनुसन्धान कार्यसमेत जारी रहेको प्रहरीको भनाइ छ।







