काठमाडौँ । रोल्पाको थवाङमा भएको विभत्स जिप दुर्घटनाको छानबिन प्रतिवेदन आज बुझाउने तयारी भएको छ। २० जनाको ज्यान जाने गरी वैशाख १७ गते भएको उक्त दुर्घटनापछि प्रधानमन्त्रीकै नेतृत्वमा रहेको गृह मन्त्रालयले गठन गरेको छानबिन समितिलाई दिइएको तीन दिनको समय आज समाप्त हुन लागेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार समितिको प्रतिवेदन प्राप्त हुनासाथ त्यसका निष्कर्ष र सुझावहरूलाई तत्काल कार्यान्वयनमा लैजाने तयारी गरिएको छ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षकको संयोजकत्वमा गठित चार सदस्यीय समितिले घटनाको प्राविधिक र मानवीय पक्षबारे सूक्ष्म अध्ययन गरिरहेको छ। सरकारले यो प्रतिवेदनका आधारमा देशभरकै सडक सुरक्षा प्रणालीमा आवश्यक नीतिगत र संरचनागत सुधार गर्ने प्रतिबद्धता समेत जनाएको छ।गत मंगलबार दिउँसो थवाङ गाउँपालिका-१ सल्यापमा भएको सो दुर्घटनापछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाले तत्काल उद्धार कार्य गरेका थिए। घटनालगत्तै गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै छानबिनको प्रक्रिया अघि बढाएको थियो।
सडक दुर्घटना नागरिकको जीवन र भविष्यसँग जोडिएको गम्भीर विषय भएकोले यसमा देखिएका कमजोरी सुधार्न सरकार दृढताका साथ अघि बढ्ने प्रधानमन्त्री कार्यालयले उल्लेख गरेको छ। कार्यालयले मृतकहरूप्रति पुनः श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ।








