झापा । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वी नाका काँकरभिट्टाबाट रु. १६ अर्ब ८१ करोड ३६ लाख ३० हजारको पेट्रोलियम पदार्थ आयात भएको छ ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार सो अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, कोइलालगायत वस्तु आयात भएका छन् । पेट्रोलियम पदार्थ आयातबाट चालु आवको नौ महिनामा रु सात अर्ब ४४ करोड ७८ लाख १८ हजार राजस्व संकलन भएको उनले जानकारी दिए ।
कार्यालयको तथ्यांकअनुसार उक्त अवधिमा रु. सात अर्ब ७५ करोड ९४ लाख मूल्य बराबरको ८३ हजार ४४८ किलोलिटर पेट्रोल आयात भएको छ । त्यसैगरी, रु. पाँच अर्ब ८७ करोड १८ लाख मूल्य बराबरको ५५ हजार २४ किलोलिटर डिजेल आयात भएको छ ।
त्यसैगरी, रु. एक अर्ब ९० करोड ५९ लाख मूल्य बराबरको १९ हजार १३६.६९३ मेट्रिक टन एलपी ग्यास, रु. ५७ करोड ५१ लाख मूल्य बराबरको पाँच हजार ९८८ किलोलिटर एटीएफ तथा रु. ७० करोड १२ लाख मूल्य बराबरको ३४ हजार ५२४.४९० मेट्रिक टन कोइला आयात भएको सूचना अधिकारी हुमागाईँले बताए ।






